
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायलाई दबाब दिने उद्देश्यसहित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले सभापति रवि लामिछानेमाथि भएको भनिएको ‘राजनीतिक प्रतिशोध’को विरोधमा जारी हस्ताक्षर अभियानलाई देशव्यापी बनाउने र संगठन निर्माणसँगै जोड्ने निर्णय पनि गरेको छ । बैठकले पदपूर्ति र संगठन सुदृढीकरणका लागि थुप्रै निर्णयहरू गरेको छ ।
केन्द्रीय सदस्य रहेर राजीनामा दिएका इश्रामुल्ला मियाँलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ । रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाँले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए ।
श्रम तथा उपभोक्ता हित विभागको प्रमुखमा श्यामबाबु गौतम र उपप्रमुखमा ललित श्रेष्ठ नियुक्त भएका छन् । सार्वजनिक लेखा समीक्षा विभागको प्रमुखमा गोकुल सापकोटा तोकिएका छन् । मधेश प्रदेश समितिमा सहमहामन्त्रीका रूपमा बाराका गणेश धिमाल र सिरहाकी पुनम साहले जिम्मेवारी पाएका छन् ।
बैठकले रणनीतिक समूहहरू गठन गर्ने, वडा, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म संगठनलाई सशक्त बनाउने र केन्द्रीय समिति तथा विभागीय सदस्यहरूलाई जिल्ला जिल्लामा परिचालन गर्ने निर्णय गरेको छ । रास्वपाले यसलाई आगामी राजनीतिक अभियानसँग प्रत्यक्ष जोडेर कार्यान्वयन गर्ने तयारी गरेको छ ।
























