
काठमाडौं । काठमाडौंमा रहेर ताप्लेजुङको विकास, जिल्लाको संस्कार संस्कृतिको प्रचार र संरक्षणमा चासोका साथ काम गर्दै आएको ताप्लेजुङ समाज नेपालले यस वर्ष मौलिक पर्व ‘लाखे जात्रा मेला २०८२’ आयोजना गर्ने भएको छ ।
संस्थाको स्थापना कालदेखि नै ताप्लेजुङमा बसोबास गर्ने विभिन्न जाति समुदायहरूको धर्म, संस्कार र संस्कृतिमा आधारित मौलिक चार्ड पर्वहरूलाई पालैपालो उत्सवको रूपमा मनाउँदै आएको समाजले यस वर्ष भने साउन ३१ गते लाखे जात्रा मेला आयोजना गर्ने तयारी गरेको हो ।
काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै यस वर्ष प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना गर्ने तयारी भएको समाजका महासचिव देउमान विष्टले जानकारी दिए ।
साउन ३१ गते शनिबार कृष्ण जन्माष्टमीको दिन काठमाडौको धुम्बाराही स्थित एस आर ब्यंक्वैटको खुल्ला प्राङ्गणमा लाखे जात्रा भव्य रूपमा मनाउन तयारीमा संस्था जुटेको सांस्कृतिक संयोजक तथा संस्थाका सचिव कृष्ण केदेम बताउँछन् ।
उक्त जात्रालाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि मूल आयोजक समिति र विभिन्न ११ वटा उपसमिति पनि गठन गरिएको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष तथा प्रचार प्रशार उपसमिति संयोजक रमेश बरालका अनुसार समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फे संयोजक र ताप्लेजुङ नेवा संस्कृति समाज काठमाडौंका अध्यक्ष जीवनकुमार श्रेष्ठ सहसंयोजक रहेको १५१ सदस्सीय मूल आयोजक समिति गठन भएको छ । उक्त समितिमा दुवै संस्थाका सम्पूर्ण पदाधिकारी तथा सदस्य, जिल्लाका विशिष्ट व्यक्ति व्यक्तित्वहरू र ताप्लेजुङसँग सम्बन्धित काठमाडौमा रहेका सामाजिक संघ संस्थाहरू सदस्यका रूपमा रहनेछन् ।
मेलामा सगुनको रूपमा नेवारी खानपिन परिकारहरू क्वाँटी, छोइला र आइला रहनेछन् । उक्त मेलामा कम्तीमा ६ वटा स–शुल्क खानपिन स्टलहरू राखिनेछन् । उक्त स्टलहरूमा टिपिकल ताप्लेजुङमै उत्पादित खाद्य परिकारहरूको स्वादसमेत चाख्न पाइने छ ।
करिब ६ लाख ५० हजार हाराहारीको खर्चमा आयोजना हुन लागेको एक दिने मेलामा ताप्लेजुङको परम्परागत लाखे नाच र बेठी बाजासहितको रोपाई जात्रासमेत देखाइने समाजका उपाध्यक्ष अग्नि पौडेलले जानकारी दिए ।
अन्य जिल्ला र क्षेत्रको भन्दा ताप्लेजुङको लाखे नाच विशेष र रोचक भएकाले यसलाई काठमाडौंमा पनि देखाउने तयारी समाजले गरेको हो । यसको व्यवस्थापन, संयोजन र संरक्षणमा लामो समयदेखि काम गरिरहेका संस्थाका सल्लाहकारसमेत रहेका समाजसेवी ध्रुवनारायण श्रेष्ठले मौलिक परम्परा र संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्नेमा जोड दिए ।
यस वर्ष आयोजना गरिने मेलामा जिल्लाका विभिन्न परम्परागत सांस्कृतिक झाँकीहरू, च्याब्रुङ नाच, याबा बिजुवा नाच, स्याबु नाच, संगिनी नृत्यसहित राष्ट्रिय कलाकारहरूको समेत प्रस्तुति रहने समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले जानकारी दिए ।
कार्यक्रममा ताप्लेजुङमा बसोबास गर्ने विभिन्न जाति, समुदायहरूको आफ्नो मौलिक भेष भूषामा आधारित पहिरनमा मेला भर्न आउने मध्ये उत्कृष्ट ३ जनालाई पुरस्कृतसमेत गर्ने तयारी आयोजकको छ ।
मेलामा सगुनको रूपमा नेवारी खानपिन परिकारहरू क्वाँटी, छोइला र आइला रहनेछन् । उक्त मेलामा कम्तीमा ६ वटा स–शुल्क खानपिन स्टलहरू राखिनेछन् । उक्त स्टलहरूमा टिपिकल ताप्लेजुङमै उत्पादित खाद्य परिकारहरूको स्वादसमेत चाख्न पाइने छ ।
जिल्लामा उत्पादित मुख्य नगदे बाली अलैंची लगायतका अन्य जडीबुटीहरूसहित छुर्पी, राडी र पाखीसमेत मेलामा राखिनेछ, भने जिल्लाका मुख्य धार्मिक सांस्कृतिक पर्यटकीय स्थलहरूको प्रचार–प्रसारमा मद्दत पुग्ने खालका प्रचार सामाग्रीहरू समेत राख्ने बताइएको छ ।
हरेक वर्ष ताप्लेजुङ समाज नेपालले आयोजना गर्ने यस्ता मौलिक सांस्कृतिक पर्वहरूको माध्यमबाट जिल्लावासीहरू बिचको एकतालाई थप मजबुत र प्रगाढ बनाउने, सामाजिक सद्भावलाई कायम राख्न थप मद्दत पुग्नुको साथै भावी पुस्तालाई समेत संस्कार संस्कृतिको ज्ञान मिल्ने आयोजकको अपेक्षा छ । यस वर्ष आयोजना गरिएको एक दिने मेला बिहान ११ बजेदेखि सुरु भएर साँझ ८.३० बजेसम्म चल्ने बताइएको छ ।























