एलएलडिसीको तेस्रो सम्मेलनमा नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २४, शनिबार ०७:१५

विराटनगर । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तुर्केमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको तर्फबाट आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गरी शनिबार स्वदेश फर्किएपछि परराष्ट्र मन्त्रालयले सूचना तथा प्रसारण विभागको सहयोगमा आयोजना गरेको पत्रकार सम्मेलनमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूलाई विकास साझेदारहरूले थप सहयोग गर्नुपर्नेमा नेपालजस्ता देशले आवाज उठाएको जानकारी गराइएको हो ।

सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलका नेता प्रधानमन्त्री ओलीले भूपरिवेष्ठित मुलुकको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट भूजडित, पारवहन निर्भरबाट व्यापार प्रतिस्पर्धी र जलवायु सङ्कटापन्नबाट जलवायु प्रतिरोधी मुलुकका रूपमा रूपान्तरणका लागि आवाजा कार्यक्रम एउटा कोशेढुङ्गा साबित हुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।

स्मार्ट पूर्वाधारको निर्माण, राजमार्ग र रेलवे विस्तार, व्यापारिक मार्ग निर्माण र हरित ऊर्जा, कोरिडोर निर्माणमार्फत सीमा पार सम्पर्क विस्तारमा नेपालले काम गरिरहेको सम्मेलनमा प्रधानमन्त्री ओलीले स्पष्ट पारेको उनले जानकारी दिए । प्रधानमन्त्री ओलीले नेपालको विकास यात्रामा थप सहयोग गर्न छिमेकी मुलुक, विकास साझेदार तथा दातृ निकायलाई आह्वान गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.