
विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले बीएससी नर्सिङ विषयको पाठ्यक्रम तयार गरेको छ ।
धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न प्रदेश सरकारले हस्तान्तरण प्रक्रिया सुरु गरेसँगै मनमोहन प्राविधिक विश्वविद्यालयले चालु शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गराउनका लागि बीएससी नर्सिङको पाठ्यक्रम तयार गरेको हो । देशका दक्ष नर्सिङ कार्यक्रम विज्ञ र चिकित्सकहरुको समूहले महिनौ लगाएर सेमेस्टार प्रणालीमा आधारित ४ बर्से नर्सिङ विषयको पाठ्यक्रम तयार पारेको मनमोहन विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले जानकारी दिए ।
उनका अनुसार मनमोहनले ४ बर्से नर्सिङ कोर्षलाई ८ वटा सेमेस्टार प्रणालीमा पठनपाठन गराउने छ । निर्माण भएको कोर्षमा बीएससी नर्सिङ पढ्ने विद्यार्थीहरुले ४० प्रतिशत सैद्धान्तिक र ६० प्रतिशत प्रयोगात्मक कक्षा उत्तीर्ण गर्नुपर्ने छ । नर्सिङ कोर्ष बजारको मागलाई गहन अनुसन्धान गरेर निर्माण गराइएको पोखरेलको भनाइ ।
फरक र नयाँपनको पाठ्यक्रमले दक्ष महिला र पुरुष नर्स उत्पादन गर्न सहयोग पुग्ने उनको भनाइ छ । अनुभवी र भुक्तभोगी विज्ञहरुले निर्माण गरेको पाठ्यक्रम समय सुहाउँदो रहेको कोशी प्रदेशको स्वास्थ्य सचिव डा. राधिका थपलियाले बताइन् ।
उनका अनुसार बिरामीको हेरचाह मात्र नभएर एउटा सफल नर्सका लागि अनुशासित ‘लिडरसीप’ पनि उत्तिकै आवश्यक पर्छ भन्ने कुरामा ध्यान दिएर मनमोहनले नयाँ नर्सिङ कोर्ष निर्माण गरेको पाइएको छ । उक्त कोर्षमार्फत दक्ष जनशक्ति उत्पादन गर्नेमा आफू विश्वस्त रहेको डा. थपलियाले बताइन् ।
रजिष्ट्रार डा. दिलनाथ फुयालका अनुसार मनमोहनले निर्माण गरेको बीएससी नर्सिङको नयाँ कोर्ष अनुसार नर्स सेवा पढ्न चाहने पुरुषहरुलाई पनि १५ प्रतिशत आरक्षणको व्यवस्था रहनेछ । अनुभवी विज्ञहरुले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय मूल्यमान्यता र विश्वविद्यालयहरुमा पढाइ भइरहेको पाठ्यक्रमलाई गहन अनुसन्धान गरेर फरक एवं माग सुहाउँदो ढंगले पाठ्यक्रम निर्माण गरेको कोशी प्रदेशको समाजिक विकास मन्त्रालयका उच्च शिक्षा महाशाखा प्रमुख दामोदर फुयालले बताए ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका नर्सिङ सेवा विज्ञ डा. रामशरण मेहताले मनमोहनले निर्माण गरेको बीएससी पाठ्यक्रम जेनियाटिक नर्सिङ, होम नर्सिङ, मेन्टलहेल्थ नर्सिङलगायत सबै क्षेत्रको अभावलाई पूरा गर्ने बताए । डा. मेहताले भने, ‘नर्सिङ पाठ्यक्रम उत्कृष्ट बनेको छ । तर, यसलाई सफल बनाएर व्यवहारिक बनाउने चुनौती हुन सक्छ ।’
नर्सिङ क्याम्पस विराटनगरकी प्रमुख मेनुका भण्डारीले मनमोहनले निर्माण गरेको बीएससी नर्सिङ पाठ्यक्रम जागिर खानेहरुका लागि मात्र नभएर आफैं कमाएर खानसक्नेहरुका लागि झनै उपयोगी रहेको बताइन् । उपकुलपति पोखरेलका अनुसार कोशी सरकारले धनकुटा अस्पतालाई मनमोहनको शिक्षण अस्पताल बनाउने निर्णय गरेर हस्तान्तरण प्रक्रिया सुरु गरिसकेको छ ।
हस्तान्तरणको प्रक्रिया पूरा भएपछि मनमोहनले तुरुन्तै बीएससी नर्सिङ कार्यक्रम सञ्चालन गर्ने उनले बताए । कोशी प्रदेश सरकारले २०७६ मा स्थापना गरेको देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयले हाल इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सतर्फ स्नातक, फार्मेसी अनि स्नातकोत्तरतर्फ अस्पताल व्यवस्थापन विषयको पठनपठान गराउँदै आएको छ ।
यसैगरी देशमै पहिलोपटक कानुनतर्फ स्नातक तहमा बीबीए एलएलबी ५ बर्से कोर्ष र अपराध शास्त्रमा एलएलमको पनि पठनपाठन गराउँदै आएको छ । आगामी १० वर्षभित्र विभिन्न विषयमा पीएचडीसहित स्नातक र स्नातोकोत्तर विषयमा पढाइ सुरु गराउने लक्ष्य छ ।



















