कोशीका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री, शेरबहादुर देउवासँग पनि छलफल

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार १४:३५

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् हेरफेरको उद्देश्यले दौडधुप बढाएका छन् । मन्त्रिपरिषद् सदस्य गम्भीर विवादमा परेपछि मुख्यमन्त्रीले मन्त्रिपरिषद् हेरफेरका लागि दौडधुप बढाएका हुन् ।

मुख्यमन्त्री कार्कीले आइतबार प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरे । केही दिनअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए ।

आइतबार बिहान प्रधानमन्त्री ओलीसँग भएको भेटमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको समग्र परिस्थिति र कामकाजबारे जानकारी गराएको बताएका छन् । ‘राजनीतिक विषयमा कुराकानी भयो,सरकारका कामकाजका बारेमा रिपोर्टिङ पनि गरेँ,’ उनले भने ।

यसअघि उनले कांग्रेस सभापति देउवासँग पनि भेट गरी प्रदेशको पछिल्लो अवस्थाबारे अवगत गराएका थिए । मुख्यमन्त्री निकट स्रोतका अनुसार दुवै शीर्ष नेतासँगको भेटको मुख्य एजेण्डा मन्त्रिपरिषद् पुनर्गठन नै थियो ।

यद्यपि, प्रधानमन्त्री ओली र सभापति देउवा दुवैले यस विषयमा गठबन्धनमा सल्लाह गरेर मात्र निर्णय दिने जवाफ दिएका छन् । ‘माथिबाट कुरा नआइकन मन्त्री फेरिँदैनन् । यहाँको स्थितिबारे रिपोर्टिङ भएको छ ,’ उनी निकट स्रोतले भन्यो,‘ अब उहाँहरुले सल्लाह गरेर भन्नुहुन्छ, केही दिन हेरौं ।’

मुख्यमन्त्री कार्कीले भेटघाटका सबै विषय स्पष्ट रूपमा नबताए पनि मन्त्रिपरिषद् हेरफेरका लागि उनीमाथि निरन्तर दबाब रहेको बुझिएको छ । बागमती प्रदेशमा देखिएको सत्ता समीकरणको विवादका कारण कांग्रेस सभापति देउवाले कोशीमा तत्काल मन्त्रिपरिषद् हेरफेर रोक्न चाहेको बताइएको छ ।

विवादित मन्त्री र आन्तरिक कलह

कार्की नेतृत्वको सरकारका मन्त्रीहरु विवादमा तानिएका छन् । पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डल घुस मागेको आरोपमा विवादित छन् भने कृषिमन्त्री खगेनसिं हाङ्गाम गृह जिल्ला ताप्लेजुङमा कुटपिटको घटनामा जोडिएका छन् ।

मन्त्रीहरुको आचरणलाई लिएर सार्वजनिक आलोचना बढ्दै गए पनि मुख्यमन्त्री कार्की मौन छन् । प्रतिपक्षी दलहरूले पटक–पटक जवाफ माग गरे पनि उनले संसद्मा बोलेका छैनन् । मुख्यमन्त्री निकट नेताहरु भने उनी बोलेरभन्दा काम गरेरै (मन्त्रिपरिषद् हेरफेर गरेर) जवाफ दिने तयारीमा रहेको बताउँछन् ।

एमाले संसदीय दलको स्रोत भन्छ,‘एक वर्ष पूरा भएका मन्त्री दुवै दलबाट फिर्ता हुन्छन्, हाम्रोमा केही समस्या छैन, समस्या कांग्रेसमा हो । माथिबाट सिग्नल आउने बित्तिकै मन्त्रिपरिषद् पुनर्गठन हुन्छ ।’

कोशी प्रदेशमा सत्ता साझेदार नेपाली कांग्रेसभित्र पनि गहिरो विवाद छ । हालको सरकारमा डाक्टर शेखर कोइराला समूह सहभागी छैन । अब मन्त्री परिवर्तन गर्दा संस्थापन पक्षभित्रै देउवा र कृष्णप्रसाद सिटौला समूहबीच भागबन्डा मिलाउनुपर्ने छ भने इतर समूहलाई व्यवस्थापन गर्न पनि चुनौती छ ।

यही आन्तरिक विवादका कारण कांग्रेसले कोशीमा मन्त्री फेर्न हतार नगरेको देखिन्छ । तर, आफ्नै मन्त्रीहरु विवादमा फसेपछि मुख्यमन्त्री कार्की भने निरन्तर दबाबमा छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.