देशव्यापी अभियानको तयारीमा युवा संघ, केन्द्रीय यूथ फोर्सको बैठकले गर्‍यो विभिन्न निर्णय 

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २५, आइतबार २०:४०

काठमाडौं । राष्ट्र निर्माण र संगठन सुदृढीकरणमा युवाको अग्रणी भूमिकालाई थप प्रभावकारी बनाउन राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय यूथ फोर्स विभागको प्रथम बैठक सम्पन्न भएको छ ।

संघको केन्द्रीय कार्यालय, बुद्धनगरमा आइतबार संघका केन्द्रीय अध्यक्ष क्षितिज थेवे प्रमुख अतिथ्यतामा बैठक बसेको हो । उक्त बैठकले आगामी गतिविधिहरूलाई थप गतिशील र प्रभावकारी बनाउन रणनीति तय गरेको विभागका प्रमुख मिसन राईले जानकारी दिए ।

यस अघि संगठनको केन्द्रीय पदाधिकारीको तेस्रो बैठकमा पारित निर्णयअनुसार एक महिनाको सदस्यता अभिवृद्धि अभियान, एक महिनाको रक्तदान अभियान र सङ्गठनात्मक संरचनाको व्यवस्थापन लगायतका कार्यक्रम देशभर सञ्चालन गरिने भएकाले त्यसमा युथफोर्स विभागले विगत झैँ गर्भिलो उपस्थिति जनाउने निर्णय समेत आइतबारको बैठकले गरेको छ ।

युवा शक्ति र सङ्गठनात्मक क्षमता दुवैलाई सुदृढ पार्ने यो अभियान ऐतिहासिक हुने ।

राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी बैठकले साउन २७ गतेदेखि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विभिनन कार्यक्रमहरू सञ्चालन गर्न निर्देशन दिएको थियो । साथै, अधिवेशन पूर्व अनिवार्य रूपमा लेखा परीक्षण गर्ने, आगामी भदौ ९ गते हुने अन्तर्राष्ट्रिय आइटी सेमिनारमा वडा तहसम्म सहभागिता सुनिश्चित गर्ने विशेष निर्णय पनि बैठकमा भएको छ ।

यससँगै, राष्ट्रिय युवा संघ नेपालका मातहतका प्रदेश, जिल्ला, पालिका र वडा समितिहरूको अवस्थाबारे विस्तृत विवरण साउन ३० गतेभित्र केन्द्रीय कार्यालयमा बुझाउन विशेष निर्देशन पनि जारी गरिएको छ ।

केन्द्रीय यूथ फोर्स विभागका अनुसार, उक्त सबै कार्यक्रम तथा निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि यूथ फोर्सले देशव्यापी अभियान सञ्चालन गर्ने पनि विभाग प्रमुख राईले  बताए । युवा शक्ति र सङ्गठनात्मक क्षमता दुवैलाई सुदृढ पार्ने यो अभियान ऐतिहासिक हुने उनको विश्वास छ ।

आइतबारको बैठकमा संघका उपाध्यक्ष महाराज गुरुङ, केन्द्रीय लेखा आयोग प्रमुख कृष्ण जैसी, बाग्मती प्रदेश इन्चार्ज अमित पौडेल, केन्द्रीय निर्वाचन आयोगका उप प्रमुख युवराज थापा, केन्द्रीय कृषि तथा वित्तीय विभाग प्रमुख राजन थोकर, सचिवालय सदस्य राजु तिवारीलगायत संगठनका विभिन्न केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।

युवा शक्ति र संगठनको एकतालाई अझ मजबुत बनाउने उद्देश्यसहित सम्पन्न यस बैठकमा विभागका सम्पूर्ण सदस्यहरूको पनि सहभागिता थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.