सांकेतिक तस्बिर ।विराटनगर । मोरङको उर्लाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी परेका छन् । उर्लाबारी नगरपालिका–१ का मेचेडाँगीका ६९ वर्षीय लालबहादुर खड्काको परिवारका सदस्यहरु बिरामी परेका हुन् ।
प्रहरीका अनुसार जंगलबाट टिपेर ल्याएको च्याउको तरकारी बनाएर खाँदा आइतबार राति बिरामी परेको पाइएको छ । बिरामी पर्नेमा ६९ वर्षीय लालबहादुरसहित उनकी पत्नी ६८ वर्षीया पवित्रा खड्का, छोराहरु ४२ वर्षीय शेरबहादुर खड्का, ३८ वर्षीय जंगबहादुर खड्का र बुहारी २४ वर्षीया जानुका खड्का रहेका छन् ।
बिरामी परेका सबै जनाको झापाको दमकस्थित आम्दा अस्पतालमा उपचार भइरहेको छ । बिरामी परेकामध्ये शेरबहादुर र जानुकाको अवस्था मध्यम छ । अरुको अवस्था सामान्य रहेको र घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

























