
बुटवल । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामा रहेको रुपन्देही कारागारमा आधारभूत सुविधा नै अभाव भएको पाइएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको टोलीले सोमबार कारागारको अनुगमन गर्दै लामिछानेलाई राखिएको कोठा मात्र नभइ समग्र कारागारको अवस्था नै चिन्ताजनक रहेको तथ्य सार्वजनिक गरेको हो । आयोगकी प्रवक्ता लिली थापाका अनुसार लामिछाने बसेको कोठामा वातानुकूलित एसी छैन ।
प्राकृतिक हावा प्रवेश गर्ने झ्यालसमेत प्लाइउडले टालेर बन्द गरिएको छ । सुरक्षाको कारण देखाउँदै जेल प्रशासनले झ्याल बन्द गरेको बताएको छ । तर, आयोगको आग्रहपछि प्रशासनले खोल्ने तयारी गरेको छ ।
थापाले कारागारको भिडभाड र फोहोरको अवस्था पनि गम्भीर रहेको बताइन् । क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको, पर्याप्त शौचालय नभएको, भएका शौचालय पनि अत्यन्तै खराब अवस्थामा रहेको आयोगको प्रत्यक्ष अवलोकनमा देखिएको हो ।
लामिछानेको कोठामा एउटा सामान्य चाइनिज फ्यान र अर्को पार्टी प्यालेसमा प्रयोग हुने खालको ठूलो फ्यान मात्र रहेको पनि उनले बताइन् । मानवअधिकार आयोगको प्रारम्भिक मूल्यांकन अनुसार कारागारको संरचना, सफाइ र स्वास्थ्य सुरक्षासम्बन्धी व्यवस्थामा तत्काल सुधार आवश्यक देखिएको छ । आयोगले यसबारे औपचारिक प्रतिवेदन तयार गरेर सम्बन्धित निकायलाई सिफारिस गर्ने छ।

























