
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१ पचाममा कारले ठक्कर दिँदा घाइते भएका बालकको भोलिपल्ट मृत्यु भएको छ ।
विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ८३०४ नम्बरको कारको ठक्करबाट रुद्रबहादुर कार्कीका छोरा १३ वर्षीय टीकाराम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेका टीकारामलाई बाटो क्रम गर्ने क्रममा आइतबार बिहान ११ः३० बजेतिर कारले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा सोमबार बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनालगत्तै कार लिएर चालक रोहित सास फरार भएका थिए । कारलाई भने प्रहरीले विराटनगरबाट नियन्त्रणमा लिएको छ । कार चालकको खोजी जारी राखिएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार उक्त कार विराटनगर महानगरपालिका–८ का आशिष लखटियाको हो ।

























