कुवेतमा विषाक्त मदिराले ३ दिनमै ९ जना नेपालीको मृत्यु

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३०, शुक्रबार १४:१८

काठमाडौं । कुवेतमा लुकी–छिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ३ दिनको अवधिमा ९ जना नेपाली श्रमिकको मृत्यु भएको छ ।

बिरामी परेका केही नेपालीको उवपचार जारी छ । केही अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार मृतकहरूको विवरण संकलन भइरहेको छ ।

आधिकारिक मेडिकल रिपोर्ट आउन बाँकी छ । ‘३ दिनको बीचमा ९ नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तर, मेडिकल रिपोर्ट प्राप्त नभएसम्म मृत्युको वास्तविक कारण निश्चित गर्न सकिँदैन,’ आचार्यले भने ।

कुवेतको स्वास्थ्य मन्त्रालयले भने मेथानोलयुक्त मदिरा सेवनका कारण बिरामीहरू धमाधम अस्पताल भर्ना भइरहेको जनाइएको छ । मन्त्रालयका अनुसार नेपालीसहित अन्य एसियाली मुलुकका २३ जनाको मृत्यु भइसकेको छ ।

विषाक्त मदिराका कारण बिरामी परेका १ सय ६० भन्दा बढीको उपचार जारी छ । उनीहरूको उपचार आदान, फर्वनिया र मुबारक अलकबी अस्पतालमा भइरहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

कुवेतमा मदिरा पूर्णरूपमा प्रतिबन्धित भए पनि अवैधानिक रूपमा उत्पादन र बिक्री हुने गरेको छ । विषाक्त मदिराको स्रोत पत्ता लगाउन स्थानीय अधिकारीहरूले अनुसन्धान अघि बढाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मृतक र गम्भीर बिरामीमध्ये धेरैजसो निर्माण क्षेत्रमा कार्यरत श्रमिक छन् । धेरैलाई मिर्गौला फेल भएर डायलासिस गर्नुपर्ने अवस्था आएको छ भने कतिपयमा पूर्ण वा आंशिक दृष्टिदोष देखिएको छ ।

प्रारम्भिक अनुसन्धानले उक्त मदिरामा मेथानोल प्रयोग भएको पुष्टि गरेको छ । उद्योगमा एन्टिफ्रिज, सोल्भेन्ट र इन्धन निर्माणमा प्रयोग गरिने मेथानोल अत्यन्तै विषालु रसायन हो ।

मानव उपभोगका लागि सामान्य मदिरामा एथानोल प्रयोग हुन्छ । तर, मेथानोल खाद्य प्रयोजनमा प्रयोग गर्न मिल्दैन । मेथानोल सेवन गरेपछि टाउको दुख्ने, बान्ता हुने, दृष्टि धमिलो हुने लगायतका लक्षण देखा पर्छन । बिरामीको मृत्युसमेत हुन्छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.