हिमाल र प्रविधि जोड्ने प्रबलको साहसिक यात्रा

Share this
775shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ साउन ३०, शुक्रबार १४:५७

विराटनगर । ‘म त रसुवाको हिमाली भेगमा हिमाल हेर्दै हुर्किएको हो,’ प्रबल लामा हाँस्दै सुनाउँछन् । आईटीको संसारमा निपुण र पर्वतारोहणमा साहसी प्रबलले प्रविधि र प्रकृतिका २ फरक यात्रालाई जीवनमा एउटै बाटो बनाएका छन् ।

हिमालको पृष्ठभूमिमा हुर्किएका उनले बाल्यकालमै बुझिसकेका थिए, ‘हिमाललाई जित्नु भन्दा पनि उसलाई बुझ्ने यात्रा अझ गहिरो र अर्थपूर्ण हुन्छ ।’ सन् २००९ मा प्रबलले महावीर पुनको नेपाल वायरलेस प्रोजेक्टसँग आफ्नो आईटी यात्रा सुरु गरे ।

त्यो केवल पेसागत अवसर मात्र थिएन, आफ्नै गाउँ र देशलाई इन्टरनेटको माध्यमबाट संसारसँग जोड्ने सपना थियो । उनी भन्छन्, ‘मैले लगातार ६ वर्ष स्वयंसेवकका रूपमा काम गरें । त्यो नै मेरो प्रेरणाको स्रोत बन्यो ।’ यस क्रममा उनले प्रविधिमा दक्षता मात्र होइन, कठिन परिस्थितिमा समाधान खोज्ने क्षमता पनि विकास गरे ।

आफ्नै गाउँ रसुवालाई प्रविधिसँग जोड्ने कामसँगै सन् २०१४ बाट उनको जीवनमा अर्को अध्याय सुरु भयो — पर्वतारोहण । तर, यो यात्रा शारीरिक साहसको परीक्षा मात्रै नभएर आत्मअनुशासन, धैर्य र प्रकृतिप्रतिको विनम्रताको अभ्यास पनि थियो ।

शेर्पाको सहयोगबिना आरोहण गर्ने निर्णय गर्दैगर्दा उनले बुझिसकेका थिए कि हिमाल चढ्न अहंकार होइन, क्षमता र विवेक आवश्यक हुन्छ । उनी भन्छन्, ‘बिना शेर्पा जाँदा अहंकारले होइन, बुद्धि र विवेक लगाएर हिमाल चढ्नुपर्छ । मान्छे सगरमाथाको चुचुरोमा पुगेर सफलताको खुशी मनाउन सक्छ । तर, जीवन बुझ्नु ठूलो रहेछ ।’

सगरमाथा आरोहणको क्रममा प्रबल ८,६५० मिटरको उचाइसम्म पुगे । शिखर त्यहाँबाट मात्र १९८ मिटर टाढा थियो । तर, उनले फर्कने निर्णय गरे । ‘शिखर चुम्दा फोटोमा मात्र अटाउनुहुन्छ । तर, जीवन बाँच्दा कथा निरन्तर बाँचिरहन्छ,’ उनी सम्झन्छन् ।

विगत १३ वर्षदेखि उनी हिमाली भेगमा प्रविधि जोड्ने काम गर्दै आएका छन् । तर, पछिल्ला वर्षमा प्रबलले हिमाली भूगोलको परिवर्तन आफ्नै आँखाले देखेका छन् ।

पहिले सेतै हिउँले ढाकिएका चुचुराहरू अहिले कालो ढुंगाले उदाङ्गिएका छन् । मुहानहरू सुक्दै गएका छन् । हिमताल फुट्ने जोखिम बढेको छ । वनस्पतिहरूको स्वरूप फेरिँदैछ । उनी भन्छन्, ‘यो ग्लोबल वार्मिङको प्रत्यक्ष प्रमाण हो । अब केवल हेरेर बस्ने हैन । दीर्घकालीन काम गर्नुपर्ने समय आएको छ ।’

स्थानीय अनुसन्धान, समुदायको सहभागिता र प्रविधिको सहकार्यले मात्र यी समस्याहरूको दीर्घकालीन समाधान सम्भव छ । प्रबल भन्छन्, ‘हामीसँग तथ्यांक त छन् । तर, त्यसलाई विश्वव्यापी रूपमा सुनाउने माध्यम छैन ।’ आईटी र पर्वतारोहण दुवै अनुभव भएकाले उनी यो खालीपनलाई पूरा गर्न चाहन्छन्।

हाल प्रबल हिमाली क्षेत्रमा उच्च क्षमता भएको ‘वेदर स्टेशन’ स्थापना गर्दैछन् । ‘यसले मौसमविद्, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई भरपर्दो तथ्यांक उपलब्ध गराउनेछ । जसले पर्वतारोहणदेखि विपद् पूर्वानुमानसम्मको काममा सहयोग पुग्छ,’ उनी भन्छन् ।

उनको पहिलो योजना थियो ‘ई–भिलेज नेपाल’ । जसले दुर्गम पहाडी गाउँहरूमा डिजिटल खाडल कम गर्ने लक्ष्य राखेको थियो । गाउँका विद्यार्थी, स्वास्थ्यकर्मी र व्यवसायीलाई इन्टरनेटमार्फत विश्वसँग जोड्ने यो प्रयासले शिक्षा, स्वास्थ्य र आर्थिक अवसरमा महत्वपूर्ण योगदान पुर्यायो ।

सन् २०१२–०१३ मा प्रबलले मनास्लु क्षेत्रमा ठूलो वायरलेस कनेक्टिभिटी परियोजना नेतृत्व गरे । धादिङदेखि धोरजुङ हिलसम्म ५९ किमी र धोरजुङ हिलदेखि सामागाउँसम्म ३६ किमीको लिंक स्थापना गर्दै स्थानीय वितरण बिन्दुहरू बनाए । यो केवल प्रविधि होइन, समुदायलाई जोड्ने सामाजिक मिसन थियो । कठिन मौसम र भौगोलिक अवस्थाका बाबजुद समुदायमा वास्तविक परिवर्तन देखियो ।

प्रबल प्रविधिमा मात्रै नभएर पर्वतारोहणमा पनि गहिरो रुचि राख्छन् । सन् २०२४ अप्रिल २३ मा उनले लोबुचे पिक सफलतापूर्वक आरोहण गरे । पर्वतारोहणले उनलाई धैर्य, जोखिम मूल्यांकन र निर्णय क्षमताको महत्त्व सिकाएको छ ।

‘यी गुणहरूले मेरो आईटी र नेटवर्किङ यात्रामा पनि मार्गदर्शन गरिरहेका छन्,’ उनी भन्छन् । प्रविधि र स्थानीय सहभागिताको सहकार्यले हिमाली क्षेत्रका शिक्षा, स्वास्थ्य र आर्थिक अवसरहरूमा वास्तविक परिवर्तन ल्याउन सक्छ भन्नेमा प्रबल विश्वस्त छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.