
विराटनगर । झापाको बाह्रदशी गाउँपालिका–५ की १५ वर्षीया झरना राजवंशीको खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार बाह्रदशी–७ स्थित घाग्रा खोलामा पौडी खेल्ने क्रममा डुबेर दिउँसो ३ बजेतिर झरनाको मृत्यु भएको हो । उनी विद्यालय बिदा भएपछि ७–८ जना साथीहरुसँग पौडी खेल्न घाग्रा खोलामा गएको पाइएको खड्काले बताए ।
पौडी खेल्ने क्रममा बढेको खोलाको बहावले उनलाई घुमाउरो दहमा पुर्याएको थियो । घटनास्थलबाट करिब ३० मिटर दक्षिणमा झाडीमा अड्किएको अवस्थामा शव फेला परको डीएसपी खड्काले बताए ।
उनका अनुसार घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली परिचालन गरिसकिएको छ । झरना बाह्रदशी–७ स्थित गौरीशंकर माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ ।

























