
विराटनगर । पछिल्लो १ घण्टामा सुनसरी जिल्लास्थित सप्तकोशी चतरा वर्षा मापन केन्द्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले शिनबार बिहान एक सूचना जारी गर्दै थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्रका स–साना खोलामा पानीको बहाव अचानक बढ्न सक्ने जनाएको हो ।
विभागले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई विभागले सतर्कता अपनाउन आग्रह गरेको छ।
देशका अरु ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सङ्खुवासभा, सिन्धुपाल्चोक, चितवन, रुकुम पूर्व, बाजुरा, दार्चुलालगायतका ठाउँमा मध्यम वर्षा भएको छ ।
आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै ठाउँहरुमा तथा बाँकी तराई भू-भागका एक/दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।























