
विराटनगर । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभराको संरक्षण र विकासमा काम गरिरहेको पाथीभरा क्षेत्र विकास समितिले पहिलो पटक सार्वजनिक सुनुवाइ गर्दैछ । सरकारले यो समिति स्थापना गरेदेखि हाल सम्म यसरी सार्वजनिक सुनुवाइ भएको थिएन ।
पाथीभराको विषयमा उठ्ने र उठेका प्रश्नहरूको सरोकारवाला र सर्वसाधारणलाई सार्वजनिक रूपमा नै जानकारी दिने उद्देश्यले भोली (भदौ १ गते आइतबार) सार्वजनिक सुनुवाइको आयोजना गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङले जानकारी दिए ।
‘पाथीभरा देवी र यसको गतिविधिको विषयमा आम सरोकारवालाहरूको जिज्ञासा सम्बोधन गर्न र पाथीभरा क्षेत्र विकास समितिबाट गरिएको गतिविधिबारे जानकारी गर्ने उद्देश्यले हामीले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेका हौं,’ कार्यकारी निर्देशक हाङ्वाङले भने ।
जनप्रतिनिधि, राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालय र पाथीभराप्रति गहिरो चासो व्यक्त गर्ने सबैलाई कार्यक्रममा बोलाइएको छ । कार्यक्रम बिहान ११ बजेबाट सदरमुकाम फुङलिङमा रहेको सामदायिक भवन (सिटी हाल)मा हुनेछ ।
पाथीभरा क्षेत्र विकास समिति सरकारले २०५३ सालमा स्थापना गरेको हो ।
























