विराटनगरमा श्रीकृष्ण जन्माष्टमी (फोटो फिचर)

Share this
701shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ३१, शनिबार १२:२५
श्रीकृष्ण जन्माष्टमी श्रद्धा र भक्तिभावपूर्वक मनाइँदै (फोटो फिचर)

विराटनगर । विराटनगरलगायत विश्वका कृष्ण मन्दिरहरूमा हिन्दु धर्मावलम्बी र भगवान् श्रीकृष्णका भक्तजनहरूले विशेष पूजा आराधना गरी जन्माष्टमी पर्व धूमधामका साथ मनाइरहेका छन् ।

 

कृष्ण जन्माष्टमीको भोलि पल्ट युगल जोडी राधाकृष्णलाई राखेर रथयात्रा गर्ने प्रचलन रहँदै आएको छ । विश्वमा विभिन्न देशहरूमा कृष्ण भगवानको भक्तजन रहे पनि भारत र नेपालमा मात्रै युगल जोडी राधाकृष्णलाई राखेर रथयात्रा गर्ने गरिन्छ ।

भारतको रथयात्रा सबैभन्दा ठुलो हो भने त्यसपछिको ठुलो रथयात्रा भनेको विराटनगरमा निस्कने हो ।

मान्यता अनुसार, यही दिन कंसको कैदमा रहेका वासुदेव र देवकीको गर्भबाट भगवान् कृष्णको जन्म भएको थियो । यस पर्वलाई सातम आठम, गोकुलाष्टमी, अष्टमी रोहिणी, श्रीकृष्ण जयन्ती वा श्री जयन्ती भन्ने पनि गरिन्छ ।

कृष्णका बाल्यकालका लीलादेखि युवावस्थासम्मका कथा मथुरा, वृन्दावन र यमुना किनारमा मात्र सीमित नभई सम्पूर्ण भूलोकमा प्रसिद्ध छन् ।

उहाँको व्यक्तित्व, शिक्षण र दिव्य जीवनशैलीले आज पनि सम्पूर्ण जगतलाई आकर्षित गर्दै आएको छ ।

यसैले गर्दा विक्रम सम्वत् १९८८ विराटनगर महानगरपालिका –१ मा राधाकृष्ण मन्दिरको स्थापना गरियो । मन्दिर स्थापना पछाडि कृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण रथयात्रा निकाल्न थालियो ।

यस पटक भदौ १ गते आइतबार (भोलि) ५८ औँ रथयात्रा राधाकृष्ण मन्दिर विराटनगर –१ बाट सुरु भइ तीनपैनी, मेनरोड, ट्राफिक चोक, महेन्द्र चोक, रोड शेष चोक हुँदै बरगाछी भएर पुनः मन्दिरमा पुगेर सम्पन्न हुनेछ
विगतको रथलाई केही परिमार्जन गरेर यस पटक फरक शैलीमा निर्माण गरिएको बताइएको छ ।

रथयात्राका क्रममा भक्तजनहरूले भगवानको दर्शन गर्न नपाएको गुनासो धेरै आएपछि यस पटक सबै जनाले देख्ने गरी रथ बनाइएको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले जानकारी दिए ।

यस पटकको रथ पहिलोको भन्दा उचाइ, चौडाइ र लम्बाइमा बढाइएको छ । सबैतर्फ काठ प्रयोग गरी विभिन्न भगवानका आकृतिलगायतका बुट्टाहरू कुँदेर बनाइएको छ ।

स्वदेशी र विदेशी कालिगडहरूले यस पटक रथ बनाएका छन् । पेगोडा शैलीको रथको लम्बाइ १९ फिट, चौडाइ १४ र उचाइ १८ फिट ३ इन्चको छ ।

आज विराटनगरका मेयर नागेश कोइरालाले रथको पूजाआजा गरी उद्घाटन गरेका छन् ।

विराटनगरका केही व्यक्तिहरूले १९८८ सालदेखि ‘खटयात्रा’ रूपमा शोभायात्रा सुरू गरेको इतिहास छ । यो २०२२ सालमा वयलगाडाबाट निकालिन थालिएको थियो । २०२५ सालमा विराटनगरका भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि यो रथयात्राको सुरुवात भएको बताइएको छ ।

त्यस बेलादेखि सुरु भएको रथलाई यस पटक नयाँ ढंगबाट पुनर्निर्माण गरिएको हो । रथ यात्रामा नेपाल र भारतका करिब ४ लाख बढी भक्तजन सहभागी हुने आयोजकले जनाएको छ ।

कृष्ण जन्माष्टीको अवसरमा मन्दिर, रथ निर्माण र रथयात्रामा विशेष योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.