
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको ऐतिहासिक रथयात्रालाई प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको जगेर्ना गर्ने महत्वपूर्ण पर्वको रूपमा व्याख्या गरेका छन् ।
विराटनगरमा आइतबार निकालिने रथयात्राको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस पर्वले सामाजिक एकता, सहिष्णुता र साझा संस्कृतिको अद्वितीय उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका हुन् । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई विविधतायुक्त प्रदेशको रूपमा परिचित गराउँदै भने, ‘राजधानी विराटनगरमा बृहत रूपमा मनाइने रथयात्राले हाम्रो धार्मिक सहिष्णुता, सांस्कृतिक परम्परा र ऐतिहासिक महत्वलाई झल्काउँछ । यसले हाम्रो प्रदेशलाई सांस्कृतिक रूपमा अझ सबल र समृद्ध बनाउँछ ।’
उनका अनुसार १९८८ सालमा खटयात्राका रूपमा सुरु भइ रथयात्राका रूपमा निरन्तर सञ्चालन हुँदै आएको यस पर्वले विराटनगर मात्र नभएर सम्पूर्ण प्रदेशमा एकताको सन्देश फैलाएको छ । जातजाति, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको बताउँदै कार्की रथयात्रा जस्ता पर्वले विविधताभित्रको एकताको भावलाई अझ गहिरो बनाउने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री कार्कीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय अभियानसँग जोड्दै रथयात्रा जस्ता सांस्कृतिक कार्यक्रमले पर्यटन प्रवर्धनमा ठूलो योगदान पुर्याउने बताए । भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने यस पर्वलाई अझ भव्य र व्यवस्थित बनाउन प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ छ।
रथयात्राले परम्परागत धार्मिक संस्कारसँगै सांस्कृतिक मूल्यलाई जोगाउँदै प्रदेशमा सामाजिक सद्भाव, आपसी एकता र पर्यटन प्रवर्द्धनमा ठूलो योगदान गर्ने विश्वास मुख्यमन्त्री कार्कीले व्यक्त गरेका छन् ।
























