
काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।
सचिव मिश्री बिहान काठमाडौं आइपुगेका हुन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका थिए ।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा सचिव मिश्री २ दिने नेपाल भ्रमणमा आएका हुन् । सोमबार पशुपतिनाथको दर्शन गरेर भारत फर्किने कार्यक्रम तय गरेका मिश्रीले सबै महत्वपूर्ण भेटघाट आइतबार नै सक्ने छन् ।
प्रधानमन्त्री ओलीले भदौ ३१ गते भारतको भ्रमण गर्दैछन् । त्यसकै तयारीका लागि र ओलीलाई भ्रमणको निम्ता दिन मिश्री काठमाडौं आइपुगेका हुन् ।
























