
काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका मिश्री राष्ट्रपति निवास शीतल निवास पुगेका हुन् ।
भेटमा राष्ट्रपति पौडेलले नेपाल–भारतबीचको सम्बन्ध ऐतिहासिक र गहिरो रहेको भन्दै भारतले पछिल्ला वर्षमा हासिल गरेका सामाजिक, आर्थिक तथा प्राविधिक उपलब्धिबाट नेपाल लाभान्वित भएको र अझ बढी सहयोग र अनुभव आदान–प्रदान गर्न चाहेको बताए । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार पौडेलले भारतलाई उदाउँदो अन्तर्राष्ट्रिय शक्ति भन्दै दुवै देशबीचको सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान, विश्वास र सहकार्यमा आधारित रहेको उल्लेख गरे ।
उनले नेपालले भारतसँगको सम्बन्धलाई सधै उच्च प्राथमिकतामा राखेको र भारत सरकारले अघि सारेको ‘छिमेक पहिलो नीति’ को नेपालले प्रशंसा गर्ने पनि प्रष्ट पारे । यस अवसरमा भारतीय विदेश सचिव मिश्रीले नेपाल भारतको छिमेकी नीति अन्तर्गत प्राथमिकताको उच्च स्थानमा रहेको दोहोर्याए ।
उनले आफ्नो भ्रमणबाट दुवै देशबीच आधुनिक युगअनुकूल कनेक्टिभिटी विस्तार, आपसी प्रगति र विकासका नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे । मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका हुन् ।
पशुपतिनाथको दर्शन गरेर सोमबार स्वदेश फर्कने कार्यक्रम तय भएसँगै उनले आइतबार नै सबै महत्त्वपूर्ण राजनीतिक भेटवार्ता गर्ने तालिका बनाइएको छ । मिश्री यही भदौ ३१ गते हुने प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीलाई सहयोग गर्ने उद्देश्यले पनि नेपाल आएका हुन् ।
























