
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासको कब्जामा रहेको भनिएका विपिन जोशीको रिहाइका लागि पहल भइरहेको बताएका छन् ।
विद्रोही हमास समूहले बन्धक बनाएका जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकारले हर सम्भव पहल गरिरहेको उनले स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जाल फेसबकुमा पोस्ट गर्दै जोशीको शीघ्र रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी रहेकोले उल्लेख गरे ।
‘सरकार विपिनको सुरक्षालाई प्राथमिकता दिँदै हर सम्भव पहलमा जुटिरहेको छ । विपिनको सुरक्षित र शीघ्र रिहाइ सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ,’ उनले भने । प्रधानमन्त्री ओलीले सरकार विपिनका परिवारको साथमा रहेको बताए ।
‘इजरायलस्थित हाम्रो दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले महामहिम राष्ट्रपति आइज्याक हर्जोग र संसद् अध्यक्ष अमिर ओहानासँग भेटेर विपिनको रिहाइको लागि पहल गर्न आग्रह गर्नुभएको छ,’ ओलीले भनेका छन्, ‘यसअघि मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग गत फागुन २८ गते मैले यस विषयमा ध्यानाकर्षण गर्दै फोन संवाद गरेको थिएँ ।’
प्रधानमन्त्री ओलीले इजरायलमा सहयोग गरिरहेका नेपाली र स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी तथा सामाजिक अभियन्तालाई धन्यवाद दिएका छन् ।

























