१० वर्षपछि एमाले मोरङको कार्यालय जाँदै विद्या भण्डारी, कार्यक्रममा नजान एमाले संस्थापनको उर्दी

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३, मंगलबार १२:५७

विराटनगर । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी करिब १० वर्षपछि एमाले मोरङको पार्टी कार्यालय जाने भएकी छन् ।

उनी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित पार्टी कार्यालय जान लागेकी हुन् । दिउँसो १ बजेपछि मोरङ पार्टी कार्यालयको अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

एमाले पार्टी कार्यालय ऐतिहासिक मदन–आश्रित भवनसमेत भएकाले पूर्वराष्ट्रपतिले त्यहाँ पुगेर भवनको अवस्था हेर्ने र त्यसपछि उनी काठमाडौं फर्कने तयारी रहेको बताइएको छ । तर, भण्डारीको मोरङ भ्रमणलाई लिएर एमालेभित्र संस्थापन पक्ष र उनका निकट कार्यकर्ताबीच मतभेद सतहमा आएको छ ।

पार्टीका विराटनगर महानगर इञ्चार्ज पर्शुराम बस्नेतले पार्टी कार्यालयमा कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी केही व्यक्तिले सामाजिक सञ्जाल र फोनमार्फत प्रचार गरेको भन्दै त्यस्तो भ्रममा नपर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । बस्नेतले सर्कुलरमार्फत स्पष्ट पारेका छन्, ‘जिल्ला कार्यालय वा विराटनगर महानगरपालिकाभित्र पार्टीको कुनै औपचारिक कार्यक्रम तय गरिएको छैन । त्यसैले त्यस्तो झुटो प्रचारप्रति नझुक्किनु हुन हार्दिक अनुरोध गर्दछु ।’

यसअघि पनि सोमबार भण्डारी विराटनगर आइपुग्दा अरु बेला विमानस्थलमा देखिने एमाले नेताहरू विशेषगरी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की तथा मन्त्रीहरू उपस्थित भएनन् । उनको स्वागतमा भने प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी मात्रै पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारीले भने सोमबारै विराटनगरमा एमाले नेता तथा कार्यकर्ताहरूसँग छुट्टाछुट्टै भेटघाट गरेकी थिइन् । उनीसँग भेट गर्न कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहित मन्त्रीहरु पनि गएका थिए ।

पूर्वराष्ट्रपति भण्डारी एमालेको पूर्वउपाध्यक्ष समेत भएका कारण उनको पाञ्चाली पार्टी कार्यालय अवलोकनलाई नेताहरूले स्वाभाविक भनेका छन् । उनका निकटस्थहरूले संस्थापन पक्षले यसलाई अनावश्यक रूपमा लिएको आरोप लगाएका छन् ।

तर, संस्थापन पक्षका नेताहरू भने कुनै औपचारिक कार्यक्रम नभएको र कार्यकर्ताले त्यसतर्फ जान नहुनेमा जोड दिइरहेका छन् । एमाले संस्थापनको उर्दीपछि कार्यकर्ता अन्योलमा परेका छन् । पूर्वराष्ट्रपति भण्डारी मंगलबार साँझ नै काठमाडौं फर्किने कार्यक्रम छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.