
विराटनगर । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेट भएको छ । याे भेटले एमालेभित्र हलचल ल्याएको छ ।
मुख्यमन्त्री कार्की अरु ४ जना मन्त्रीहरुसहित भण्डारीलाई भेट्न बिग होटल पुगेका थिए । उक्त भेटघाटले एमालेभित्रको आन्तरिक द्वन्द्व सतहमा आएको कतिपयको विश्लेषण छ ।
मुख्यमन्त्री कार्कीसँगै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर राना मगर, आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्की र सामाजिक विकासमन्त्री पाँचकर्ण राईले सामूहिक रुपमा पूर्वराष्ट्रपतिसँग भेटघाट गरेका थिए । तर, मुख्यमन्त्री कार्की भने करिब १ घण्टा भण्डारीसँग ‘वान टु वान’ छलफल गरे ।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अपमानित गरेको गुनासो पोखेको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । केहीअघि मात्रै सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीलाई एमाले नेतृत्वले सदस्यता नवीकरण नगर्नुका साथै उनको विषयमा छलफलसमेत नगर्न मातहतका कमिटीलाई निर्देशन दिएको थियो ।
तर, भण्डारीले सोमबार नै ओलीप्रति असन्तुष्टि पोख्नु र प्रदेश सरकारको शीर्ष नेतृत्व उनलाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसले एमालेभित्र अदृश्य र गहिरो शक्ति संघर्ष सुरु भएको संकेत दिएको कतिपयको बुझाइ छ ।
यता भण्डारी एमाले मोरङको विराटनगरस्थित पार्टी कार्यालय पाञ्चाली जाने कार्यक्रमलाई पनि पार्टीको संस्थापन पक्षले रुचाएको छैन । १० वर्षपछि उनी पार्टी कार्यालय पुगेकी थिइन् । कार्यकर्ता भेटघाटका लागि भण्डारी पार्टी कार्यालय जाँदा संस्थापन पक्षले अस्वीकार गरेको हो ।
तर, भण्डारी पक्षले भने विराटनगर महानगरको नेतृत्वमा आफूहरुकै बहुमत रहेको दाबी गर्दै कार्यक्रमलाई अघि बढाउने तयारी गरेको थियो । उनीहरुका अनुसार ओली पक्षधर नेताहरुले फोन र दबाबमार्फत कार्यकर्तालाई रोक्ने प्रयास गरेका थिए ।
विद्या भण्डारी लामो समयसम्म एमाले अध्यक्ष ओलीकै निकट नेतृको रुपमा परिचित थिइन् । राष्ट्रपति पदमा रहँदा पनि उनले ओलीको राजनीतिक हितअनुरुपकै भूमिका खेलेको आरोप लाग्ने गर्थ्यो । तर, पछिल्लो समय उनीहरुबीचको सम्बन्ध चिसिएको देखिन्छ ।
सक्रिय राजनीतिमा फर्किएपछि भण्डारीलाई पार्टीभित्र पुनः स्वागत गर्ने कि अलग राख्ने भन्ने विषयमा नेतृत्व विभाजित छ । भण्डारीलाई पार्टीमा पुनः प्रवेश दिएमा संगठनभित्र नयाँ शक्ति केन्द्र बन्ने र नेतृत्व चुनौतीमा पर्न सक्ने भन्दै ओली पक्षले अस्वीकारको नीति लिएको छ ।
भण्डारी पक्षधरले उनको लोकप्रियता र संगठनात्मक अनुभवलाई पार्टीका लागि उपयोगी ठहर गर्दै सक्रिय भूमिकामा ल्याउनुपर्ने तर्क गरेका छन् । विराटनगरमा भएको सोमबार रातिको भेटलाई विश्लेषकहरुले सामान्य नभएको ठहर गरेका छन् ।
मुख्यमन्त्री कार्की र मन्त्रीहरु ओलीकै टिकटमा निर्वाचित भई मन्त्री बनेका हुन् । तर, उनीहरु विद्या भण्डारीलाई भेट्न पुगेका छन् । यसलाई भविष्यमा एमालेभित्र नयाँ समीकरण बन्ने संकेतको रुपमा हेरिएको छ । अझ भण्डारीले भेटघाटमै ओलीमाथि असन्तुष्टि पोख्नु र ओली पक्षधरले भण्डारीको कार्यक्रममा नजान कार्यकर्तालाई उर्दी जारी गर्नुले पार्टीभित्रको अन्तरविरोध एवं शक्ति संघर्षलाई प्रष्ट पारेको कतिपयको बुझाइ छ ।
यसअघि नै ओलीले भण्डारीबारे कुनै छलफल र भेटघाट नगर्न निर्देशन दिएका थिए । तर, सोमबारको भेटले उक्त निर्देशनलाई खुलेआम चुनौती दिएको देखिन्छ । अर्कोतर्फ ओलीकै संकेत पाएर नै मुख्यमन्त्री र मन्त्रीहरु पूर्वराष्ट्रपतिलाई भेट्न पुगेको हुनसक्ने आकलन पनि गरिएको छ ।
























