उपसभामुखबारे तत्काल कुनै कदम नचालिने

Share this
662shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३, मंगलबार १७:१५

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा सत्तारुढ दलहरूले तत्काल कुनै कदम नचाल्ने भएका छन् ।

सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको सत्ता गठबन्धनको बैठकले राना मगर अमेरिकाबाट स्वदेश फर्किएपछि मात्रै प्रक्रिया अघि बढाउने सहमति गरेको हो । हाल अमेरिकाको भ्रमणमा रहेकी उपसभामुख भदौ १३ गतेपछि मात्र नेपाल फर्कने कार्यक्रम छ ।

बैठकपछि नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले उपसभामुखविरुद्ध अविश्वास प्रस्तावबारे कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे । उनका अनुसार बैठक संसदलाई प्रभावकारी बनाउन, महत्त्वपूर्ण विधेयक अघि बढाउन र लामो समयदेखिको गतिरोध अन्त्य गर्ने उपाय खोज्नमा केन्द्रित थियो ।

विशेषगरी भूमिसम्बन्धी विधेयकबारे साझा धारणा बनाएर छिट्टै सदनबाट पारित गर्ने तयारी भएको उनको भनाइ थियो । बर्तौलाले उपसभामुखबारे उठेका प्रश्नहरूलाई खुला र संस्थागत छलफलमार्फत मात्र निष्कर्षमा पुर्याइने बताए । उनले राना मगर विदेशमा रहेको अवस्थामा अविश्वासबारे टिप्पणी गर्नु नैतिक दृष्टिले उचित नहुने उल्लेख गरे ।

जनता समाजवादी पार्टी (जसपा)का नेता वीरेन्द्र महतोले पनि उपसभामुख नेपाल फर्किएपछि मात्रै गठबन्धनले ठोस निर्णय गर्ने स्पष्ट पारे । बैठकमा संसदीय प्रक्रियालाई सहज बनाउने, विधेयक समयमै पारित गर्ने र सदनमा साझा रणनीति अपनाउने विषयमा छलफल भएको उनको भनाइ थियो ।

बैठकमा कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, लोसपा र जनमत पार्टीका शीर्ष नेताहरू सहभागी थिए । सत्ता गठबन्धनले संसदमा आगामी दिनमा अवरोध हटाएर ऐन कानुन पारित गर्ने र विवादित विषयमा सहमति खोज्ने साझा रणनीति बनाउने विषयमा जोड दिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.