
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणलाई राष्ट्रिय स्वार्थसँग जोड्दै लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय प्राथमिकतापूर्वक उठाउनुपर्ने सुझाव दिएका छन् ।
हालसालै पुनः लिपुलेकसम्बन्धी विवाद सार्वजनिक भएपछि शर्माले विस्तृत रूपमा आफ्नो धारणा राख्दै सरकारलाई ठोस कदम चाल्न आग्रह गरेका हुन् । शर्माले सामाजिक सञ्जालमार्फत विचार प्रस्तुत गर्दै भारत र चीन दुवै छिमेकीले नेपालको भू–भागलाई बेवास्ता गरेर गरेको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले प्रधानमन्त्रीको भ्रमणलाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने र नेपालको स्पष्ट दाबी विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने बताए । उनका अनुसार यो विषय कूटनीतिक चिठी–पत्रमा सीमित नराखी सर्वदलीय र सर्वपक्षीय एकतालाई पनि जोडिनुपर्नेछ । उनले साझा दृष्टिकोण र एकीकृत प्रतिबद्धता निर्माण गर्न सकिने गरी बैठक आह्वान गर्न सरकारसँग माग गरेका छन् ।
शर्माले नेपालको संसद्ले संविधानको अनुसूची ३ संशोधन गरेर लिम्पियाधुरा, लिपुलेक र कालापानीसमेत समेटिएको नक्सा २०७७ जेठ ३१ गते सर्वसम्मत पारित गरिसकेको स्मरण गराएका छन् । यसलाई देशभित्र मात्र नभएर अन्तर्राष्ट्रिय जगतमा पनि थप स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ ।
उनले भारत र चीनबीच लिपुलेक प्रयोगबारे भएको सहमतिको विरोधस्वरूप नेपालले पठाएको कूटनीतिक नोटलाई स्मरण गराउँदै हालैको सहमति उपर पनि सोही ढंगले कूटनीतिक नोट पठाउनुपर्ने आवश्यकता औंल्याए ।
शर्माले प्रस्तुत गरेका ६ प्रमुख सुझावहरू यसप्रकार छन् —
१, सरकारको आह्वानमा सर्वदलीय र सर्वपक्षीय बैठक बोलाउने ।
२, सो बैठकमार्फत घटनाक्रमबारे ऐक्यवद्ध दृष्टि र साझा प्रतिबद्धता निर्माण गर्ने ।
३, २०७७ जेठ ३१ मा संसद्ले पारित गरेको नेपालको नक्साबारे देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्टता दिने ।
४, भारत–चीनबीच २०१५ मा लिपुलेकबारे भएको सहमति उपर नेपालले पठाएको नोटलाई स्मरण गराउँदै पछिल्लो सहमतिको विरोधमा पनि कूटनीतिक नोट पठाउने ।
५, ऐतिहासिक तथ्यका आधारमा भारत र चीन दुवैलाई विश्वासमा लिएर प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय औपचारिकरूपमा प्रवेश गराउने ।
६, नेपाल–भारत सीमासम्बन्धी प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुवै मुलुकका प्रधानमन्त्रीले बुझ्ने र त्यसलाई आधार मानी अन्य विवादास्पद विषयमा समेत हल खोज्ने प्रस्ताव गर्ने ।
























