
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीका बारेमा भारत र चीनबीच भएको भनिएको सम्झौताका बारेमा नेपाल सरकारको धारणा माग गरेको छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले २ देशबीच भएको भनिएको सम्झौतामा सरकारको कदमबारे सदनमा स्पष्ट जानकारी माग गरेका हुन् । पाण्डेले बिहीबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोलेका थिए ।
पाण्डेले २ छिमेकी मुलुकबीच भएको सम्झौताले नेपाललाई दुःखित बनाएको बताए। उनले नेपालको भूभागमाथि गरिएको दाबी चिर्न सरकारले के गरिरहेको छ भन्ने विषयमा आधिकारिक धारणा सदनलाई तत्काल दिनुपर्ने आवाज उठाए ।
पाण्डेले राष्ट्रियताको संवेदनशील मुद्दामा सरकार मौन बस्न नहुने बताए । ‘देशको सार्वभौमिकता र अखण्डताको सवालमा सदनलाई जानकारी दिन सरकारले ढिलाइ गर्नु हुँदैन,’ उनले भने ।
























