
विराटनगर । मोरङको लेटाङमा नेकपा (एमाले)को दोस्रो नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट नगर अध्यक्षमा खगेन्द्रराज भण्डारी निर्वाचित भएका छन् ।
शुक्रबार सम्पन्न निर्वाचनमा १ सय ६२ मत ल्याएर भण्डारी अध्यक्षमा विजयी हुँदा उनका प्रतिस्पर्धी नन्दलाल धिमाल ६० मतमा मात्रै सीमित भए । भण्डारी पार्टीको संस्थापन अर्थात् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर हुन् ।
धिमाल विद्या भण्डारी समूहका हुन् । यस अधिवेशनलाई मोरङ एमालेभित्र पछिल्लो समय देखिएको २ लाइनशक्ति संघर्षको निर्णायक चरणका रूपमा हेरिएको छ ।
अध्यक्षसहितका पदाधिकारीमा संस्थापन पक्षको प्यानल विजयी भएको छ । उपाध्यक्षमा विष्णुकुमार मगरले १ सय ६४ मत ल्याएर यामनाथ सुवेदीलाई पराजित गरे । सुवेदीले ३९ मत पाएका थिए । सचिवमा १ सय ६४ मत ल्याएर उर्गेन तामाङ निर्वाचित हुँदा उनका प्रतिस्पर्धी जीतबहादुर लामाले ५२ मत मात्र पाए ।
उपसचिवमा नगेन्द्रराज पराजुली १ सय ५५ मतका साथ विजयी भए । उनले टेकनाथ निरौलालाई पराजित गरेका हुन् । महिला उपसचिवमा १ सय ५४ मत ल्याएर चिजमाया लिम्बू निर्वाचित हुँदा प्रतिस्पर्धी पुनम मस्की मगर ६४ मतमा सीमित भइन् ।
नगर कमिटीका अन्य सदस्य भने सर्वसम्मत चयन भएका छन् । यो अधिवेशनले लेटाङमा एमालेको संस्थापन पक्ष मजबुत रहेको देखाउँछ । एमालेको राजनीतिक गतिविधिमा यसको प्रत्यक्ष प्रभाव पर्न सक्ने विश्लेषण गरिएको छ ।
























