
काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन शनिबार नेपाल आइपुगेकी छन् ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी ३ दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुगेकी हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उनलाई स्वागत गरे ।
त्यस अवसरमा नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी र सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो । नेपाल आएकी उपराष्ट्रपति सुआनले नेपाली सेनाले दिएको ‘गार्ड अफ अनर’को निरीक्षण गरिन् ।
नेपालमा भियतनामको तर्फबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । परराष्ट्र मन्त्रालयका अनुसार, उनी आजै परराष्ट्र मन्त्री डा. राणासँग शिष्टाचार भेटवार्ता गर्नेछिन् ।
भ्रमणका क्रममा भदौ ८ गते उपराष्ट्रपति यादव र उनकी समकक्षी सुआनबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता हुनेछ ।
यसैगरी, उपराष्ट्रपति सुआनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
























