
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा नेपाली कांग्रेसले पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूलाई पठाउने गृहकार्य थालेको छ ।
आकांक्षी कांग्रेस सांसदहरूमध्ये बडूलाई सभापति बनाउन सहमतिको प्रयास भइरहेको पार्टी स्रोतले बतायो । सभामुख देवराज घिमिरेले समितिको सभापति चयनका लागि यही भदौ ११ गते बुधबार निर्वाचनको मिति तोकेका छन् ।
नियमावलीअनुसार सभापति रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने व्यवस्था छ । यसअघि निजामती सेवा विधेयक निर्माणका क्रममा ‘कुलिङ अफ पिरियड’मा गरिएको विवादित व्यवस्था सम्बन्धी विवादमा मुछिएपछि तत्कालीन सभापति रामहरि खतिवडाले साउन २८ गते राजीनामा दिएका थिए ।
समितिमा हाल कांग्रेसका ९, नेकपा (एमाले)का ६, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा)को १–१ गरेर १८ जना सदस्य रहेका छन् । एमालेले पनि कांग्रेसलाई सभापति पदमा समर्थन गर्ने संकेत गरिसकेको छ । २७ सदस्यीय समितिमा एमाले–कांग्रेस मिल्दा मात्रै बहुमत पुग्ने भएकाले कांग्रेस उम्मेदवारलाई निर्वाचित गर्न सहज हुने देखिन्छ ।
तर, कांग्रेसभित्र भने सभापति उम्मेदवार चयनका विषयमा अझै अन्तिम सहमति बनेको छैन । बडूको नाम अघि सारिए पनि अम्बिका बस्नेत, सरिता प्रसाई र हृदयराम थानी पनि आकांक्षी देखिएका छन् । अन्तिम निर्णय कांग्रेसको आन्तरिक छलफलपछि हुने बताइएको छ ।
राज्य व्यवस्था समिति नेतृत्वविहीन हुँदा महत्वपूर्ण विधेयकहरू अड्किएका छन् । समितिमा नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल विधेयक, निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकसमेत ४ विधेयक दफावार छलफलमा रहेका छन् । साथै, ७२ भन्दा बढी उजुरी पनि समितिको कार्यतालिकामा रोकिएका छन् ।
सभामुख घिमिरेले निर्वाचन मिति तोक्नु अघि आइतबार दिनभर राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरेका थिए । अब भने निर्वाचन तालिका सार्वजनिक भइसकेकाले कांग्रेसले उम्मेदवारको तत्काल टुंगो लगाउनुपर्ने छ ।
























