
विराटनगर । हिउँझैँ फुलेको कपाल, चाउरिएका गाला र निधार । तर, त्यही चाउरिएको छालाभित्रको हँसिलो अनुहारमा भने अनेकौँ कथाहरू लुकेका छन् ।
विराटनगर –८ मा रहेको विराटेश्वर वृद्धाश्रमको एक कुनामा टोलाएर बसिरहेकी ८८ वर्षीया चन्द्रकुमारी कार्कीको हाँसोमा खुसीभन्दा धेरै विगतको सम्झना र आफन्तको झल्को देखिन्छ ।
तिजको रौनकले सहर छपक्कै छोप्दा, उनको मन भने ओखलढुंगाको जन्मथलो र कर्मथलोमा आफन्तसँगै नाचेको, गाएको र दर खाएको सम्झनाले उथलपुथल हुन्छ ।

‘अब त गाउँमा सडक पुग्यो रे, उनी मलिन स्वरमा सुनाउँछिन्, ‘तर के गर्नु, मन पुग्छ, यो ज्यान पुग्न गाह्रो छ ।’ करिब दुई दशक भयो, उनले आफ्नो परिवार र छोरीको अनुहार नदेखेको ।
बेलाबेला गाउँमा छोडिएकी एक्ली छोरीको यादले उनलाई नराम्रोसँग पिरोल्छ । अनि, तिज जस्ता चाडपर्व नजिकिँदै गर्दा त्यो याद झनै गहिरो भएर आउँछ ।
चन्द्रकुमारीको जीवनको कथा कुनै उपन्यासभन्दा कम छैन । ९ वर्षको कलिलो उमेरमा उनको विवाह आफूभन्दा ८ वर्ष जेठो युवकसँग भयो । त्यो बेला बालविवाह के हो भन्ने उनलाई थाहा हुने कुरै भएन । ‘हाम्रो पालामा त सानैमा बिहे गरिदिन्थे, के थाहा र बालविवाह ?’ उनी विगत सम्झिन्छिन्, ‘म १६ वर्षको भएपछि बल्ल बुवाले श्रीमानको घर पुर्याइदिनुभयो ।’
एउटी छोरीको जन्मपछि उनको जीवनले अर्को मोड लियो । श्रीमानले उनलाई र छोरीलाई छाडेर भारतको आसाम भासिए, त्यसपछि सम्झेर कहिल्यै गाउँ फर्केनन् ।
श्रीमानको साथबाट टाढा भएपछि एक्लोपनले महिलालाई समाजले हेर्ने दृष्टिकोण र आर्थिक असुरक्षाको डरले उनी त्रसित भइन् । त्यहीँ डरबाट बच्न र एउटा सुरक्षित छहारी खोज्दै उनी जेठाजु, जेठानीको साथ लागेर विराटनगर आइन् । जेठाजुहरूसँग पनि धेरै समय बसिनन् ।
उनी विराटेश्वर आश्रममा आश्रय लिइन् । ‘परिवारसँग बोझ भएर धेरै बस्न मन पनि लागेन र एक्लो महिलालाई हेर्ने समाजको नजरबाट बच्न म आश्रममा आएर बसेकी हुँ,’ उनी आफ्नो बाध्यता सुनाउँछिन् ।
आश्रममा कहिलेकाहीँ आफन्तहरू भेट्न आउँछन् । तर, उनको आँखाले खोजेको अनुहार अझै आइपुगेको छैन । उनको मनले छोरीलाई एक पटक भेट्ने धोकोमा अड्किएको छ आँखाले छोरीको अनुहार हेर्ने । चाडपर्व जति नजिकिन्छ उनको मनमा आफन्तको याद र गाउँका पुराना दिनहरू सलबलाउँछन् ।
‘उहिले दर खाने दिन हामी ढकनी, खिर जस्ता पोसिला खानेकुरा खाएर भोलिपल्ट पानी पनि नखाई व्रत बस्थ्यौँ,’ उनी सम्झनाको पाना पल्टाउँछिन्, ‘आफन्त, साथी सँगी जम्मा भएर नाच्ने–गाउने चलन थियो ।’
तर, अहिले आश्रमको जीवनमा चाडपर्वले उनको जीवनमा कुनै विशेष अर्थ राख्दैन । उनी लामो सुस्केरा हाल्दै भन्छिन्, ‘यहाँ आएपछि के दसैँ, के तिहार, के तिज, सबै दिन उस्तै लाग्छ ।’
समयले उनको शरीरलाई कमजोर बनाएको छ, तर उनको मन र सम्झनाहरू अझै जीवन्त छन् । तिजको लहरसँगै उनको मनमा गाउँको याद र छोरी भेट्ने अधुरो इच्छाको लहर पनि उर्लिन्छ । चाउरिएको अनुहारमा मुस्कान छर्दै उनी टोलाइरहन्छिन् ।
र, आश्रममा आउने जानेहरूसँग धित फुकालेर हाँस्दै मनका कुरा पोख्छिन् । सायद मुस्कानभित्र उनले आफ्नो विगतको तिज र भविष्यमा छोरी भेटिने एक झिनो आशालाई जीवित राखेकी छिन् भन्ने महसुस हुन्छ ।























