
विराटनगर । नेपाली महिलाहरूको महान पर्व तिज समयको प्रवाहसँगै आफ्नो परम्परागत स्वरूपबाट माथि उठेर सामाजिक एकता, महिला सशक्तीकरण र अधिकार प्राप्तिको एउटा शक्तिशाली मञ्चको रूपमा विकसित भएको छ ।
कुनै बेला माइतीघरको सम्झना र शिवजीको पूजामा सीमित यो पर्व आज महिलाहरूलाई एउटै सूत्रमा बाँध्ने, आफ्ना आवाजहरूलाई बुलन्द गर्ने र नेतृत्वका लागि दाबी प्रस्तुत गर्ने अवसर बनेको छ । यही बदलिँदो परिवेशमा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेका पत्रकार महिला नेतृहरूले तिजलाई कसरी हेर्छन ?
तारा आचार्य
सञ्चारिका समूह कोशी प्रदेश अध्यक्ष तारा आचार्य पछिल्लो समय तिज मनाउने शैलीमा आएको परिवर्तन सकारात्मक रहेको बताउँछिन् । ‘पछिल्लो समय तिजलाई धेरै लामो समयसम्म मनाइयो भनेर आरोप लगाउनु व्यर्थ छ । सबै जातजाति र समुदायले एकै ठाउँमा मनाउने, विभिन्न संघसंस्थाले कार्यक्रम गर्ने भएकाले महिलाहरू एकै ठाउँमा भेला भएर मनाउँदैछन् । यो सकारात्मक कुरा हो,’ उनले भनिन् ।
उनका शब्दमा तिज माइतीको स्नेहसँग जोडिएको छ । ‘तिजभन्दा अगाडि बुवाको मुख हेर्न झापा जान्छु, तिज मनाउन विराटनगर पुग्छु,’ उनी भन्छिन् । १ पत्रकारको रूपमा आफ्नो व्यावसायिक जिम्मेवारीलाई पनि उनले प्राथमिकतामा राखेकी छिन् ।

‘म निराहार व्रत बस्दिन । किनकि चाडपर्वको दिन पनि रिपोर्टिङमा जानुपर्ने हुन्छ,’ उनी भन्छिन् । महिला अधिकारको विषयमा बोल्दै उनले थपिन्, ‘संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेकाले महिलाहरूले अधिकार पाएका छन् ।
उनले पुरुषहरू नेतृत्वमा हुँदा महिलाका आवश्यकता थाहा नहुने हुँदा मुद्दाहरू सम्बोधन गर्न र उनीहरूलाई अगाडि बढाउन महिला नेतृत्व अपरिहार्य रहेको बताइन् । यस्तै पर्वहरुमा पनि बदलिँदो परिवर्तनलाई सकारात्मक लिन आवश्यक रहेको उनको बुझाइ छ ।
सुशीला पाठक
यस्तै धारणा नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकको पनि छ । उनले तिजमा आएको परिवर्तनलाई महिला सशक्तीकरणसँग जोडेर हेर्ने गरेकी छिन् ।
‘सानोमा आमाहरू दर खान माइत जाने र घरमै सीमित हुने चलन थियो । तर, अहिले १०–१५ दिन अघिदेखि नै उत्सव सुरु हुन्छ,’ उनले भनिन्, ‘पहिले फेसन र गहनामा बढी ध्यान दिइन्थ्यो होला । तर, अब तिज अधिकार प्राप्तिको पर्व बनेको छ । यसले विभिन्न जातजाति र समुदायलाई एकै ठाउँमा ल्याएर धार्मिक सहिष्णुता कायम गरेको छ ।’

पाठकका अनुसार तिजले विभिन्न पेसामा आबद्ध महिलाहरूलाई एकजुट हुन र एउटै सूत्रमा बाँधिन महत्त्वपूर्ण भूमिका खेलेको छ । ‘मिडियाले पनि तिजलाई महिला अधिकार र स्वतन्त्रताको आवाज उठाउने पर्वको रूपमा लिएको छ,’ उनले भनिन् ।
तपाई नेपाल पात्रकार महासंघको नेतृत्वमा पुग्नु भएको छ, महिला नेतृत्वमा पुग्दा कस्तो महसुस गर्नुभएको छ ? भन्ने प्रश्नमा उनले समाजले पचाउन नसकेको तितो यथार्थ सुनाइन् । उनले भनिन्, ‘म अध्यक्ष भएर आएको ६ महिना भयो । तर, अझै पनि धेरैले मलाई ‘उपाध्यक्ष’ भनेर बोलाउँछन् र अध्यक्ष तपाईं नै हो र भनेर छक्क पर्छन् । यसले देखाउँछ कि हाम्रो पितृसत्तात्मक समाजलाई महिला नेतृत्व सहजै पाच्य छैन ।’
पर्वको अवसरमा हुने यस्ता बहस र छलफललाई समयसँगै भएको परिवर्तनका रूपमा सकारात्मक लिन आवश्यक रहेको उनको बुझाइ छ । उनका अनुसार महिलाहरूले गीतको माध्यमबाट आफ्ना विचार र पीडा खुलेर व्यक्त गर्न थालेका छन्, जुन महिला सशक्तीकरणको सुन्दर उदाहरण हो । व्यावसायिक जिम्मेवारीका कारण उनी पनि सामान्य तरिकाले नै तिज मनाउने र व्रत बस्दा पनि समाचार पठाउने एवं लाइभमा समेत सहभागी हुने गरेको सुनाउँछिन् ।
चीना थापा
प्रेस चौतारी नेपाल मोरङकी अध्यक्ष चीना थापा समाजको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनसँगै चाडपर्व मनाउने शैली र त्यसको अर्थमा पनि रूपान्तरण आउनु स्वाभाविक भएको बताउँछिन् । ‘संस्कृति र समयको सम्बन्ध गतिशील हुन्छ। यही यथार्थको एउटा सशक्त उदाहरण हो, नेपाली महिलाहरूको महान् पर्व तिज । कुनै बेला वर्षभरि भोगेका दुःख, पीडा र वेदनालाई गीतको भाकामा पोख्ने माध्यम बनेको तिज आज महिलाहरूको आत्मनिर्भरता, आत्मविश्वास र सामाजिक सहभागिताको उत्सवमा परिणत हुँदैछ,’ उनी भन्छिन् ।
तिज मनाउने शैली पहिलाको भन्दा केही फरक भएको र यो स्वाभाविक रहेको उनको बुझाइ छ । उनी भन्छिन्, ‘हिजो हाम्रा हजुरआमा र आमाहरूको पुस्ता आर्थिक रूपमा पुरुषमा निर्भर थियो । श्रीमानको कमाइको भर पर्नुपर्ने र घरभित्रै पनि खानपानमा विभेद सहनुपर्ने ती दिनमा मिठोमसिनो खानका लागि चाडपर्व वा माइतीघर नै कुर्नुपर्ने हुन्थ्यो । उहाँहरूका लागि तिज घरमा भोगेका वेदनालाई माइतीमा गएर गीतमार्फत पोख्ने र मन हल्का बनाउने अवसर थियो ।’

अहिले त्यो अवस्था नरहेको बताउँदै थापाले आजका महिलाहरू आत्मनिर्भर र व्यस्त रहेको उल्लेख गरिन् । घरको काम र जागिरको दोहोरो जिम्मेवारीले गर्दा उनीहरूसँग रमाउने समय सीमित हुने उनको भनाइ छ ।
‘माइती गएर वेदना सुनाउने प्रचलन पनि हराउँदै गएको छ । बरु जति दुःख परे पनि माइतीलाई थाहा नहोस् भन्ने सोच बलियो बन्दैछ । यस्तो परिस्थितिमा, व्यस्त जीवनबाट समय निकालेर आफूले कमाएको थोरै रकम खर्च गरेर साथीसंगीसँग भेला भई तिज मनाउनुलाई मौलिकता हराएको वा भड्किलो भएको भन्न मिल्दैन,’ थापाले भनिन्, ‘समयसँगै तिज मनाउने शैलीमा आएको यो परिवर्तन महिलाको आर्थिक स्वतन्त्रता र सामाजिक चेतनाको प्रतिबिम्ब हो ।’
उनका अनुसार परम्परागत रूपमा व्रत, पूजा, गीत र नृत्यमा सीमित तिज आज महिलाहरूको सामाजिक सहभागिता, आत्मविश्वास र आफ्नो अस्तित्व अभिव्यक्त गर्ने अवसर बनेको छ । तिजको यो परिवर्तनलाई सञ्चारमाध्यमले कसरी प्रस्तुत गरिरहेको छ भन्ने प्रश्न महत्वपूर्ण रहेको बताउँदै उनले प्राय सञ्चारमाध्यमले होटलमा गएर मनाइएको तिजलाई भड्किलो वा मौलिकता हराएको भनेर सतही रूपमा मात्र चित्रण गर्ने गरेको उल्लेख गरिन् ।
उनी भन्छिन्, ‘तर, त्यो होटलमा गएर तिज मनाउन १ महिलाले आफ्नो जीवनमा कति संघर्ष गरेकी छिन् भन्ने कथालाई उजागर गर्न आवश्यक छ ।’ होटलमा दर खान जाँदा महिलाले आफ्नो घर–व्यवहार, बालबच्चा र अन्य जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेर केही क्षण आफ्नो लागि निकालेकी हुन्छिन् भन्ने पक्षलाई भुल्न नहुने थापाको भनाइ छ ।
सञ्चारमाध्यमले तिजसँग जोडिएका परम्परा र यसमा आएको सामाजिक परिवर्तनबारे अनुसन्धानात्मक सामग्री तयार गर्नुपर्नेमा जोड दिँदै उनले तिजलाई महिलाहरूको आवाज, संघर्ष र उपलब्धिहरू उजागर गर्ने प्लेटफर्म बनाउन सकिने बताउँछिन् । सम्मानजनक ढंगले प्रस्तुत गर्दै सहर र गाउँमा मनाइने तिजको विविधता देखाएर सन्तुलित दृष्टिकोण दिनु आजको आवश्यकता रहेको थापाको भनाइ छ ।
उनको बुझाइमा तिजमा महिलाको बदलिँदो भूमिका र आत्मअभिव्यक्तिको चाहनाले जसरी सामाजिक बहस सिर्जना गरेको छ । त्यसैगरी सञ्चार क्षेत्रमा महिलाको नेतृत्वको सवाल पनि उत्तिकै पेचिलो छ । ‘महिला पत्रकारहरूलाई नेतृत्व तहमा पुग्न धेरै अतिरिक्त चुनौतीहरूको सामना गर्नुपर्छ । हाम्रो समाजमा नेतृत्वलाई प्राय पुरुषको भूमिकासँग जोड्ने सोच अझै बलियो छ,’ थापाले भन्छिन्, ‘यसका साथै सामाजिक, आर्थिक, सांस्कृतिक र पारिवारिक चुनौतीहरू पनि बाधक बन्छन् ।’
समान योग्यताका बावजुद अवसरमा असमानता व्याप्त रहेको बताउँदै उनले पुरुष सहकर्मीले गरेको त्यही काम महिलाले गर्दा अनेक कोणबाट चियोचर्चो गरिन्छ र क्षमतामाथि अविश्वास प्रकट गरिने गरेको उल्लेख गरिन् । महिलालाई सुरुमै हतोत्साहित गर्ने प्रवृत्ति हाबी भएको उनी बताउँछिन् ।
सञ्चार क्षेत्रमा महिला नेतृत्व हुनु आजको सबैभन्दा ठूलो आवश्यकता रहेको भन्दै उनले महिलाको दृष्टिकोणले समाचारमा सामाजिक न्याय, लैंगिक समानता, स्वास्थ्य र शिक्षाजस्ता मुद्दामा बढी ध्यान पुर्याउने बताइन् । थापा भन्छिन्, ‘महिला नेतृत्वले कार्यस्थलमा समावेशी नीति र सुरक्षित वातावरण निर्माणमा सहयोग पुर्याउँछ । जसले नयाँ पुस्तालाई प्रेरित गर्छ ।’
बिनु तिम्सिना
त्यसैगरी, सञ्चारिका समूह मोरङकी अध्यक्ष बिनु तिम्सिना पनि तिज भड्किलो भएको रूपमा बुझ्दिनन् । व्यस्त जीवन शैलीसँगै फेरिएको पर्व मनाउने तरिका परिवर्तनको सम्वाहक भएको उनी बताउँछिन् ।

हरेक जातजाति र समुदायलाई एउटा सूत्रमा बाँधेको यो परिवर्तनलाई भड्किलो भन्दै नकारात्मक टिपाणी गर्न नमिल्ने तिम्सिनाको बुझाइ छ ।
सविना आछामे
प्रेस सेन्टर नेपाल खोटाङ जिल्ला अध्यक्ष सविना आछामेको भने पछिल्लो समय फेरिएको तिज मनाउने शैलीप्रति फरक विचार छ । उनका अनुसार तिज पर्व पछिल्लो समयमा सांस्कृतिक र धार्मिक सहिष्णुताको प्रतीक बन्नुको सट्टा समाजमा धनी र गरिबबीचको खाडललाई थप फराकिलो बनाउने माध्यम बनेको छ ।
दर खाने नाममा महिनौं अघिदेखि सुरु हुने भोजभतेर, महँगा कपडा र गरगहनाको प्रदर्शनले तिजको सांस्कृतिक महत्वलाई ओझेलमा पारेको उनको बुझाइ छ । ‘पहिले महिलाको दुःख पीडा तिजमा प्रस्तुत गरिन्थ्यो, भनिन्थ्यो । तर, पछिल्लो अवधिमा महिला सशक्तीकरणको साटो विकृत बन्दै गएको छ,’ उनी भन्छिन् ।
अछामे थप्छिन्, ‘भड्किलो फेसन, अस्वस्थ खानपान लगायतका असमान गतिविधिले तीजलाई विकृत बनाएको छ । तिजले महिला सशक्तीकरणसँग जोडेको छ भन्ने कुरामा म सहमत छैन ।’ उनको विचारमा यो विकृतिले गर्दा तिज पर्व मध्यम तथा निम्न वर्गीय परिवारका लागि बोझ बन्न थालेको छ ।

एकातिर महिला अधिकार एवं सशक्तीकरणका चर्का नारा लाग्ने र अर्कोतिर यस्ता सांस्कृतिक पर्वहरू नै महिलालाई थप दबाब दिने माध्यम बनिरहेको उनको बुझाइ छ । सांस्कृतिक पर्वहरूमा देखिएको यो विचलनले महिलाका वास्तविक मुद्दाहरूलाई ओझेलमा पारेको बताउँदै अछामेले यस्ता विषयहरूलाई उजागर गर्न र महिलाका हकअधिकार सुनिश्चित गर्न पत्रकारितामा महिला नेतृत्व अपरिहार्य रहेको उनको भनाइ छ ।
‘जब सञ्चारमाध्यमको नेतृत्वदायी भूमिकामा महिला पुग्छन् । तब मात्र महिलाका दुःख, पीडा र सशक्तीकरणका वास्तविक मुद्दाहरूले प्राथमिकता पाउँछन्,’ उनी भन्छिन्, ‘तिजजस्ता पर्वहरुमा गरिने बहस र छलफहरुको विषयमा समेत सही सन्देश समाजमा प्रवाह हुन सक्छ ।’
यद्यपि, तिज पर्वलाई हेर्ने दृष्टिकोण फरक–फरक भए पनि यसले नेपाली समाजमा गहिरो सांस्कृतिक महत्व बोकेको छ भन्ने कुरामा दुईमत छैन । पर्वको मौलिकता जोगाउँदै समयसापेक्ष रूपमा तिज मनाउनु आजको आवश्यकता रहेको सरोकारवालाहरुको बुझाइ छ ।























