
विराटनगर । तिजको रंगीन लहरले जब धर्ती छुन्छ । आस्था र उत्सवको यो पर्वमा हरेक महिलाको मन खुसीले उफ्रिन्छ ।
विभिन्न जातजाति र समुदायका महिलाहरूको साझा प्रयासले यही पर्वलाई अझ विशेष बनाउँछ । यस्तै एउटा सुन्दर माला हो, राष्ट्रिय सौन्दर्यकर्मी युनियन (नाबुन) नेपाल, जहाँ ब्युटी पार्लर व्यवसायमा आबद्ध महिलाहरूले आफ्नो पहिचान बुनेका छन् । हरेक वर्षझैँ यस पटक पनि नाबुन मोरङ जिल्ला कार्यसमितिले तिज विशेष कार्यक्रम आयोजना गर्यो । तर, यो पटकको तिज १ महिलाको आत्मविश्वासको उडानको साक्षी बन्यो ।
ती महिला हुन्, विराटनगर महानगरपालिका–१२ की रन्जु नायक । उनी संस्थाकी सचिव छन् । उनको यो परिचय केवल एक पदमा सीमित छैन । यो त घुम्टोभित्रका सपनालाई साकार पार्न संघर्ष गर्ने समग्र मधेशी महिला समुदायको प्रतिनिधित्व हो ।
जुन समाजमा महिलालाई घरको चौखट नाघेर व्यवसायमा लाग्न सहज छैन । त्यही समाजबाट उठेर रन्जुले नेतृत्वको मैदानमा पाइला टेकेकी थिइन् । ‘म मधेशी सौन्दर्यकर्मी महिलाको आवाज र अधिकारका लागि बोल्नेछु,’ यही प्रतिबद्धताले उनलाई सचिव पदसम्म पुर्यायो । र त्यहाँबाट सुरु भयो उनको आत्मविश्वासको यात्रा ।
यसपालिको तिज कार्यक्रम उनको लागि एउटा परीक्षा र अवसर पनि थियो । सचिवको भूमिकामा पहिलोपटक कार्यक्रम सञ्चालन गर्दै गर्दा उनको मनमा हल्का हडबडाहट थियो । तर, मुहारमा इमान्दारिता र आत्मविश्वासको चमक प्रष्ट देखिन्थ्यो ।
अतिथि बोलाउनेदेखि कार्यक्रमको हरेक विधि पूरा गर्दा उनको मातृभाषाको मिठासले लवजमा एक मौलिक सुन्दरता घोलेको थियो । सायद, आफ्नै मातृभाषामा बोल्न पाएको भए उनी शतप्रतिशत पोख्त हुन्थिन् होला । तर, त्यो अञ्जान डरमाथिको उनको विजय साँच्चै लोभलाग्दो थियो ।
यो अनुभव उनको जीवनको पहिलो र एक सुनौलो अवसर थियो। कार्यक्रम सकिएपछि मलिन स्वरमा ‘कस्तो भयो म्याम ?’ भनेर सोध्दा उनको मनमा सिकाइप्रतिको गहिरो सम्मान झल्किन्थ्यो । तिजलाई भड्किलो र खर्चिलो मात्र देख्नेहरूका लागि रन्जुको यो अनुभव एउटा जवाफ हो ।
तिज केवल रातो सारी र नाचगानमा सीमित छैन । यो त रन्जुजस्ता कैयौं महिलाहरूका लागि अवसरको एउटा मञ्च हो । जहाँ उनीहरू आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन् ।
घर र घुम्टोको सीमाबाट बाहिर निस्कन नै सकस हुने समाजमा हुर्किएकी रन्जुका लागि तिज कार्यक्रम र त्यो मञ्च एउटा वृहत् पाठशाला थियो । तिजले उनलाई केवल पर्व मनाउन सिकाएन, बरु हजारौँको अगाडि बोल्ने हिम्मत, नेतृत्व गर्ने कला र आफ्नो पहिचानमा गर्व गर्ने साहस पनि दियो ।
यो दृश्य र उनको आत्मविश्वास हेर्दा तिज केवल कपडा लगाउने प्रतिस्पर्धाको पाटो मात्रै नभए अवसरको एउटा मञ्च हो भन्दा फरक नपार्दो हो । जहाँबाट रन्जु नायकजस्ता अनेकौँ महिलाहरू आफ्नो जीवनको नयाँ उडान भर्न तयार हुन्छन् ।























