मानवसेवा आश्रममा तिज : जीवनको घाउमा मलम

Share this
742shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ भदौ १०, मंगलबार १४:१६

विराटनगर । देशभर तिजको चर्चा छ । कसैले तिजलाई खर्चिलो र विकृतिको पर्याय मान्छन् भने कसैले यसलाई गाउन, नाच्न र सजिनमा मात्र सीमित भएको टिप्पणी गर्छन् ।

तर, औषधि व्यवसायी संघ मोरङले भने तिजलाई एउटा फरक र अर्थपूर्ण तरिकाले मनाएको छ । विराटनगरस्थित मानवसेवा आश्रममा संघले आयोजना गरेको तिज विशेष कार्यक्रममा सहभागी हुँदाको अनुभव साँच्चै भिन्न रह्यो । जसले जीवनको घाउमा मलमको काम गरेको थियो ।

त्यहाँ न भड्किलो पहिरन थियो, न त महँगा गहनाको चमक । देशभरको तिजको चटारोभन्दा यहाँको वातावरण संगीत एवं आत्मीयताले जीवन्त र अर्थपूर्ण बनेको थियो । आश्रममा आश्रित वृद्धवृद्धा, अपांगता भएका व्यक्ति, घरविहीन र असहायहरूको दैनिक जीवन सामान्य मात्र नभएर पीडाले भरिएको हुन्छ । तर, तिजमा उनीहरू ती सबै पीडालाई गीत र संगीतमा घोलेर मनैदेखि नाचिरहेका थिए ।

कोही गीतमा ओठ चलाउँदै थिए, कोही कम्मर मर्काउँदै थिए भने कोही आँखा चिम्लिएर धुनमा हराइरहेका थिए । त्यो क्षणमा उनीहरूका चाउरिएका अनुहारमा देखिएको खुसी साँच्चै अमूल्य थियो ।

विज्ञहरूले भनेझैँ संगीत केवल मनोरञ्जन मात्र होइन, एक प्रकारको उपचार पनि हो । तिजको अवसरमा आश्रम एउटा जीवन्त मञ्चमा परिणत भएको थियो र जहाँ आश्रमवासी मात्र नभएर पाहुनाहरू पनि खुलेर नाचिरहेका थिए ।

हिँड्न मुस्किल पर्ने ६० वर्षीया आमा हात उठाएर ताल मिलाउँदै थिइन् । भने ६० वर्षीया अर्की आमा नाच्दा, नाच्दै आफ्ना दुख बिर्सिए झैँ थिइन् ।

संगीतले आश्रमवासी र पाहुनाहरूबीचको दूरीलाई मेटाएको थियो । नाचगानको क्रममा कोही ‘आश्रित’ वा ‘दाता’ थिएनन्, सबै एउटै परिवारका सदस्यजस्ता देखिन्थे ।

मानवसेवा आश्रममा बस्नेहरूको जीवन अभाव, पीडा र बेवास्ताले भरिएको हुन सक्छ । तर, जब संगीत बज्छ र धुनमा ताल मिल्छ, ती सबै पीडाहरू केही क्षणका लागि हराएर जान्छन् । तिजको विवादास्पद स्वरूपलाई बिर्साउँदै आश्रममा आश्रितहरू आफ्नै जीवनकथाका नायक–नायिका बनेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.