
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिको उम्मेदवार सांसद ईश्वरी न्यौपानेलाई बनाउने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले न्यौपानेलाई उम्मेदवार बनाउन सर्वसम्मत रूपमा निर्णय गरेको हो । अहिले संसदीय सुनुवाइ समितिको सभापति रहेकी न्यौपानेले अब त्यस पदबाट राजीनामा दिएर राज्य व्यवस्था समितिको नेतृत्व लिने भएकी छन् ।
यसअघि समितिको सभापति रहेका कांग्रेस सांसद रामहरी खतिवडाले संघीय निजामती सेवा विधेयकको विवादित कुलिङ पिरियड प्रावधानलाई लिएर आलोचना भएपछि नैतिक जिम्मेवारीस्वरूप पदबाट राजीनामा दिएका थिए । खतिवडाको राजीनामासँगै पद रिक्त भएपछि नयाँ सभापति चयन प्रक्रिया अगाडि बढाइएको हो ।
संघीय संसद सचिवालयले तय गरेको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारी दर्ता गर्ने समय दिइएको छ । उम्मेदवार बन्नका लागि समितिका कुनै सदस्यले अर्को १ सदस्यको समर्थनसहित मनोनयन प्रस्ताव दर्ता गर्नुपर्नेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको नेतृत्व चयनका लागि बुधबार दिउँसो ३ बजे निर्वाचन गरिनेछ । संसदीय नियमावली अनुसार समिति सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति चयन गर्नुपर्ने बाध्यताका कारण बुधबार निर्वाचन निश्चित भएको हो ।
























