सौन्दर्य व्यवसायमा ‘सोसल मिडिया’काे चुनौती स्वीकार्दै ‘शर्मीला’ (भिडियाे)

Share this
714shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ भदौ ११, बुधबार १६:४८

विराटनगर । कुनै समय दुर्गमको परिचय बोकेको पूर्वी पहाडी जिल्ला संखुवासभाले पछिल्ला दशकहरूमा भौतिक विकाससँगै व्यक्तिगत उद्यमशीलतामा फड्को मारेको छ ।

रुद्राक्ष, अलैँची, विविध जडीबुटी र सभाखोलाको प्रसिद्ध असला माछाले चिनिने खाँदबारी अहिले विभिन्न व्यवसायिक सम्भावनाहरूको संगमस्थल हाे ।

बदलिँदो समयसँगै यहाँको सामाजिक चेतनामा पनि परिवर्तन आएको छ, जुन परिवर्तनको एक सशक्त उदाहरण हुन् ओरिट ब्युटी पार्लर सञ्चालक शर्मीला मास्के उदास ।

केही वर्षअघिसम्म छोरीबुहारी घरबाहिर निस्कनुहुन्न भन्ने परम्परागत मान्यताले घेरिएको समाजमा शर्मीलाले बुहारीको रूपमा खाँदबारी भित्रिएर ६ वर्षअघि ब्युटी पार्लर व्यवसाय सुरु गरिन् ।

धरानमा जन्मिएकी शर्मीलाका लागि खाँदबारीको यो यात्रा केवल एक भौगोलिक परिवर्तन थिएन, बरु परम्परागत सोच र आधुनिक आकांक्षाबीचको एउटा साहसपूर्ण पाइला थियो । उनी भन्छिन्,‘पहिले त महिलाहरु त्यसमा पनि बुहारीलाई सकस नै थियो नि तर, समयसँगै सोँच परिवर्तन हुँदैछ ।’

ब्युटी पार्लर व्यवसाय शर्मीलाका लागि आर्थिक उपार्जनको माध्यम मात्र नभएर महिला सशक्तीकरण र आत्मनिर्भरताको दरिलो खम्बा बनेको छ । यो व्यवसायले उनलाई आफ्नो पहिचान बनाउन र समाजमा योगदान दिन सक्ने क्षमता प्रदान गरेको छ ।

‘व्युटी पार्लर व्यवसालाई महिला सशक्तिकरणको दरिलो खम्बाको रुपमा लिन्छु म चाहीँ ,’उनी भन्छिन्,’पार्लर व्यवसायले मलाई आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि बलियो बनाएको छ ।’

तर, पछिल्लो समय प्रविधिको विकाससँगै पार्लर व्यवसाय अवसर र नयाँ चुनौती थपिएकाे छ ।

उनको भनाइ अनुसार सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै ग्राहकहरू इन्स्टाग्राम र टिकटकमा देखिएका मेकअप तथा हेयरस्टाइलका तस्बिरहरू लिएर पार्लरमा आउँछन् ।

‘ग्राहकहरू सोसल मिडियामा देखिएका स्टाइलहरू मोबाइलमा लिएर आउनुहुन्छ,’ शर्मिला अनुभव सुनाउँछिन्, ‘उहाँहरूले खोज्नुभएको जस्तो मेकअप, हेयरस्टाइल बनाउन सक्दा यो अवसर हाे, चुनौती सँगै अनुभव पनि हुन्छ ।’

नयाँ पुस्ता र प्रविधिसँग अपडेट हुनुपर्ने आवश्यकतालाई उनले चुनौती र अवसर दुवैको रूपमा लिन्छिन् । उनी भन्छिन्,‘ सक्छौँ भन्ने आत्मबल बढाएर नै गर्ने हो ।’

प्रविधिको सही सदुपयोग गरेर ग्राहकहरूको माग पूरा गर्न सक्दा व्यवसायले नयाँ उचाइ लिने उनको विश्वास छ । मेकअपको शैलीमा सामाजिक सञ्जालको प्रभावबारे कुरा गर्दा शर्मीला परम्परागत र आधुनिक शैलीबीचको भिन्नतालाई स्पष्ट पार्छिन् ।

‘सोसल मिडियामा बोल्ड टाइपको मेकअप चाहान्छन्, सोओभर देखिएओस् भन्ने हुन्छ,’ उनी भन्छिन्, ‘तर परम्परागत मेकअपमा चलिआएका गरगहनासँग सुहाउँदो श्रृंगार गर्नुपर्ने हुन्छ ।’

उनको भनाइ अनुसार आजकल धेरै ग्राहकहरू प्राकृतिक र क्यामेरामैत्री दुवै प्रकारको मेकअप चाहन्छन् ।

‘नेचुरलसँगै भिडियो, फोटो खिच्दा मेकअप नदेखियाेस्, लुक्सलाई राम्रो देखाओस् भन्ने नै चाहनुहुन्छ,’शर्मीला थप्छिन् ।

पछिल्लो समय प्रविधिको विकासले फड्को मार्दै गर्दा नयाँ पस्ता र प्रविधिको प्रयोगसँगै व्यवसायिक बाटोमा अगाडी बढेको उनको यात्राले संखुवासभाको सामाजिक परिदृश्यमा भइरहेको महत्वपूर्ण परिवर्तनलाई संकेत गर्छ ।

छोरीबुहारीहरू पनि घरको चार पर्खालबाट बाहिर निस्केर आत्मनिर्भर बन्न सक्छ भन्ने उदाहरण उनले पेस गरेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.