
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई सरकारले औपचारिक स्वीकृति दिएको छ ।
मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल शनिबारदेखि चीन प्रस्थान गर्ने कार्यक्रमलाई अनुमोदन गरेको हो । चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा ओलीको नेतृत्वमा नेपालले यसपटक चीनको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा उच्चस्तरीय उपस्थिति जनाउने तयारी गरेको छ ।
विश्वकै ठूलो क्षेत्रीय सुरक्षा र आर्थिक सहयोगका मञ्चमध्ये १ मानिने एससीओमा नेपालको सहभागिता कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ । सरकारी स्रोतका अनुसार प्रधानमन्त्री ओलीको चीन बसाइका क्रममा राष्ट्रपति सी चिनफिङसँग विशेष भेटवार्ता तय भएको छ ।
त्यस्तै, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसहित सहभागी अन्य मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग समेत दुईपक्षीय छलफल हुने कार्यक्रम रहेको छ । यसलाई नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने र बहुपक्षीय सहकार्यमा नेपालको सक्रियता देखाउने अवसरका रूपमा लिइएको छ ।
चीन भ्रमण सकेर प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल भदौ १८ गते स्वदेश फर्कनेछ ।
























