विवादमा मुछिएका रामहरि खतिवडालाई अर्को समितिको सभापति बनाउने तयारी

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ १३, शुक्रबार १३:४०
फाइल तस्बिर : रामहरि खतिवडा

काठमाडौं । विवादमा मुछिएका नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई फेरि अर्को महत्त्वपूर्ण समितिको सभापति बनाउने तयारी गरिएको छ ।

संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानबारे अनर्थ लाग्ने शब्दावली प्रयोग भएपछि खतिवडाले नैतिक दबाबका कारण राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा दिएका थिए ।

खतिवडालाई अब संसदीय सुनुवाइ समितिको सभापति बनाइने भएको हो । यसका लागि उनलाई सर्वप्रथम समितिको सदस्य बनाउने प्रक्रिया अघि बढाइएको छ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले खतिवडालाई सुनुवाइ समितिको सदस्य नियुक्त गरिएको घोषणा गर्ने स्रोतले बतायो ।

खतिवडाले राजीनामा दिएपछि रिक्त भएको राज्य व्यवस्था समितिको सभापतिमा हालै सांसद इश्वरी न्यौपाने निर्वाचित भइसकेकी छन् । न्यौपाने पहिले संसदीय सुनुवाइ समितिको सभापति थिइन् । तर, उनलाई सो पदबाट राजीनामा दिन लगाएर राज्य व्यवस्थामा पठाइएको हो ।

भदौ १० गते उनले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिको सभापति पद खाली भएको छ । न्यौपानेकै ठाउँमा खतिवडालाई लैजान लागिएको हो ।

प्रतिनिधिसभा नियमावलीअनुसार समितिको सभापति पद रिक्त भएको १५ दिनभित्र नयाँ सभापति निर्वाचित गर्नुपर्ने प्रावधान छ । त्यसअनुसार आगामी भदौ २५ भित्र संसदीय सुनुवाइ समितिको सभापति चयन हुनेछ ।

सत्ता पक्षबीचको पूर्वसहमतिअनुसार उक्त पदमा खतिवडालाई निर्वाचित गराउने तयारी मिलाइएको स्रोतले जनाएको छ । राजनीतिक सहमतिको आधारमा एउटा समितिबाट राजीनामा दिएर बाहिरिएका खतिवडाले फेरि अर्को समितिको नेतृत्व पाउन लागेका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.