
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने भ्रमणका लागि शनिबार चीन प्रस्थान गरेका छन् ।
राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा चीन प्रस्थान गरेका प्रधानमन्त्री ओली सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा सहभागी हुने छन् । साथै, विभिन्न उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मानपूर्वक सलामी अर्पण गरेको थियो । उनलाई उपप्रधानमन्त्री प्रकाशमान श्रेष्ठ, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आर्जु राणा देउवा लगायतका मन्त्री तथा उच्चपदस्थ व्यक्तिहरूले बिदाइ गरेका थिए ।
प्रधानमन्त्री ओलीसँगै श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्व उपप्रधानमन्त्री तथा सांसद पूर्णबहादुर खड्का, सांसद छबिलाल विश्वकर्मा, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा लगायतको प्रतिनिधिमण्डल भ्रमणमा सहभागी छ ।
मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले स्वीकृत गरेको भ्रमणमा प्रधानमन्त्री ओलीले चीनसँग नेपालको सम्बन्धलाई थप मजबुत पार्ने र बहुपक्षीय साझेदारीलाई विस्तार गर्ने उद्देश्य राखेका छन् । उनी चीनको तियानजिन सहरमा हुने एससीओ शिखर सम्मेलनमा भाग लिन जाने क्रममा हिमालयन एयरलाइन्समार्फत बेइजिङ प्रस्थान गरेका हुन् ।
सन् २००१ मा स्थापन भएको एससीओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये १ मानिन्छ । यसका पूर्ण सदस्य राष्ट्रहरूमा चीन, रुस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस रहेका छन् ।
नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ । यसपटकको सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र उपराष्ट्रपति हान चङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नेछन् । चीन सरकारद्वारा आयोजना गरिने औपचारिक भोजमा पनि सहभागी हुने कार्यतालिका तय भएको छ ।
ओलीले शिखर सम्मेलनकै क्रममा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, भियतनामका प्रधानमन्त्री फाम मिन चिङ लगायतसँग पनि भेटवार्ता गर्ने छन् । भदौ १८ गते चीन सरकारले आयोजना गर्ने फाँसीवादविरुद्धको विश्वयुद्ध तथा जापानी अतिक्रमणविरुद्धको प्रतिरोधी युद्धमाथिको विजयको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम पनि प्रधानमन्त्री ओलीको भ्रमण तालिकामा छ ।
उक्त कार्यक्रममा ५० भन्दा बढी मुलुकका प्रतिनिधिहरू उपस्थित हुनेछन् । प्रधानमन्त्री ओलीले यसपालिको भ्रमणबाट नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
उनले विशेषगरी भारत र चीनबीच नेपालको भूमिसम्बन्धी मुद्दा उठाउने र नेपाललाई पन्छाएर गरिएका व्यापारिक सहमति विषयमा चीनसँग छलफल गर्ने स्पष्ट गरेका छन् । भारत र चीनले नेपाललाई छल्दै आपसी व्यापारिक मार्ग खोल्ने सहमतिप्रति नेपालले औपचारिक रूपमा विरोध जनाइसकेको अवस्थामा प्रधानमन्त्री ओलीको चीन यात्रा विशेष महत्त्वपूर्ण मानिएको छ ।
ओलीको यस भ्रमणलाई कूटनीतिक वृत्तमा नेपाल–चीन सम्बन्ध पुनः सक्रिय तुल्याउने अवसरका रूपमा हेरिएको छ । नेपालले आफ्नो भूराजनीतिक सन्तुलन कायम राख्दै दुवै छिमेकी मुलुकसँग हितकारी सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिँदै आएका बेला प्रधानमन्त्रीको चीन भ्रमणले देशको अन्तर्राष्ट्रिय छवि र कूटनीतिक सम्भावनामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
यसैबीच, ओलीको चीन भ्रमणसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा छन् ।
























