
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीन सहमतिबारे असन्तुष्टि प्रकट गरेका छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार शनिबार दिउँसो बेइजिङमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेक सहमतिका विषयमा आपत्ति जनाएका हुन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै उनले भने, ‘नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिको बारेमा मैले राष्ट्रपति सीसँग स्पष्ट रूपमा आपत्ति जनाएको छु । सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको पूर्वका सम्पूर्ण भू–भाग नेपालकै हो भन्ने कुरा प्रष्ट छ । यस मामिलामा चीनले नेपालको पक्षलाई सम्मान गर्ने र सहयोग गर्ने विश्वास राखेका छौं ।’
राष्ट्रपति सीसँगको भेटमा दुवै देशबीचको मित्रता, आपसी विश्वास, आर्थिक सहकार्य, पूर्वाधार विकास, व्यापार विस्तारलगायतका विषयमा पनि छलफल भएको र सम्बन्धलाई अझ सुदृढ बनाउन २ देशका संयन्त्रहरू सक्रिय रूपमा अघि बढ्ने सहमति भएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओली शनिबारै २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलसहित चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका हुन् ।
उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस क्रममा अन्य विश्व नेताहरूसँग भेटवार्ता गर्ने तालिका तय भएको छ ।
भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने चीनको विजय दिवस (८० औँ वार्षिकोत्सव) स्मृति समारोहमा समेत सहभागिता जनाउने तय भएको छ ।
























