
विराटनगर । संघीय लोकतान्त्रिक मोर्चाले पूर्वनिर्धारित कार्यतालिका अनुसार विराटनगरमा सोमबारदेखि जनजागरण अभियान सुरु गरेको छ ।
जसपा (जनता समाजवादी पार्टी)को समन्वयमा सुरु भएको कार्यक्रममा मोर्चाका शीर्ष नेताहरूले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै उत्पीडित वर्गका आन्दोलन र अधिकार प्रश्नलाई जोड दिएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले देशमा सबै समुदाय र उत्पीडित वर्गले आफ्नो राष्ट्रिय तथा जातीय पहिचान खोजिरहेको दाबी गरे ।
उनले राष्ट्रिय पहिचानसँगै सबै समुदायले प्रतिनिधित्व, स्वायत्तता र सुशासनको सुनिश्चितता खोजिरहेको बताए । भूमि ऐन ल्याएर देशलाई वनजंगल मुक्त बनाउने प्रपञ्च भइरहेको दाबी गर्दै यादवले यो धनी वर्गलाई फाइदा पुग्ने योजना भएको आरोप लगाए ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा मोर्चाका नेता राजेन्द्र महतोले मधेसी, थारु, आदिवासी जनजाति, दलित र पिछडावर्गले अलग–अलग संघर्ष गर्दा अपेक्षित परिणाम नआएको उल्लेख गरे । अब सबै उत्पीडित समुदाय मिलेर अधिकार, पहिचान, स्वायत्तता र सुशासनका लागि संयुक्त संघर्ष गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।
कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले अधिकार र पहिचानको आन्दोलनमा अगुवा बनेका योद्धाहरूमाथि सरकारले झुटा मुद्दा लगाएर जेलमा राख्ने कार्य गरेको आरोप लगाए । उनले राजतन्त्र अन्त्य गरेर गणतन्त्र ल्याउनु जनताको ठूलो उपलब्धि भएको पनि स्मरण गरे ।
साथै, उनले उखु किसानलाई सरकारले बेवास्ता गर्नु गम्भीर अन्याय भएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेका छन् । जनजागरण अभियानलाई मोर्चाका अन्य नेताहरूले पनि सम्बोधन गरेका थिए । उनीहरूले मुलुकमा स्थापित संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताका उपलब्धि जोगाउन सबै समुदाय सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
























