
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सरकारविरुद्ध सडक संघर्ष गर्ने तयारी थालेको छ । पार्टीले वर्षायाम र चाडपर्व सकिएलगत्तै आन्दोलनमा जाने योजना तय गरेको हो ।
पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार जनताका माग सम्बोधन गर्न असफल भएको र सुशासनको सवालमा पनि कमजोर देखिएको आरोप लगाए । उनले भने, ‘भ्रष्टाचार झन् बढ्दो छ । यस परिस्थितिमा अब सडक संघर्षको तयारी गर्नुपर्छ ।’
सापकोटाले आन्दोलनमा तत्कालीन कार्यनीति मात्र नभइ संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद, समाजवादउन्मुख राज्यव्यवस्था र त्यसको स्पष्ट दृष्टिकोणबारे जनमत निर्माण गर्ने कार्यलाई पनि जोडिने बताए । बैठकले मध्यपहाडी लोकमार्गमा २१ भदौदेखि पार्टीको अभियान पुनः सुरु गर्ने निर्णय गरेको छ ।
त्यस्तै, पार्टीभित्रको अनुशासन, गुट तथा उपगुट अन्त्यजस्ता विषयमा पनि छलफल भए पनि कुनै ठोस निर्णय नभएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
























