एउटा नोटबाट पार्क बनाउँदैछन् जगतप्रसाद अर्ज्याल

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २१, शनिबार ११:५२

विराटनगर । ५ रुपैयाँले के हुन्छ ? अहिले बजारमा सहयाेग माग्ने व्यक्तिले पनि ५ रुपैयाँ लिन मान्दैनन् । तर, विराटनगरका जगतप्रसाद अर्ज्यालले ५ रुपैयाँ संकलन गरेरै वृद्धाआश्रम सञ्चालन गरे । विराटनगर महानगरपालिका– ८ मा १२ कट्ठा जग्गामा विराटेश्वर वृद्धाश्रम सञ्चालनमा छ ।

८४ वर्षीय अर्ज्याल जीवनको उत्तरार्धमा पार्क बनाउने अभियानमा छन् । विराटनगर महानगरपलिका– ८ मा तीन पुस्ता (बालबालिका, युवा र ज्येष्ठ नागरिक)लाई समेट्ने गरी लिबर्टी पार्क निर्माण गर्ने अभियानमा छन् ।

४२ वर्ष शिक्षकका रुपमा काम गरेका उनले ज्येष्ठ नागरिकका लागि आश्रम सञ्चालन गर्नका लागि २०५८ सालदेखि आश्रम चलाउन ५ रुपैयाँको दरले सहयोग संकलन गरेका थिए । आश्रमका लागि सहयोग संकलन गर्दा उनले  एक व्यक्तिसँग दोस्रो पटक पैसा मागेनन्, ५ रुपैयाँ भन्दा बढी कसैसँग लिएनन् ।

साइकलमा करिब ५ वर्ष लगाएर उनले ४ लाख ९२ हजार ९ सय ३ जनाबाट ५ रुपैयाँका दरले संकलन गरे । संकलन भएको रकम हरेकदिन बैंकमा जम्मा गरे । यो अभियानम विदेशमा बस्ने १ हजार ७ सय ३३ जना नेपालीले ५ डलरका दरले सहयोग गरेका थिए ।

उनले संकलन गरेको रकम ६३ लाख १२ हजार रुपैयाँ भयो । सोही रकमले विराटनगर अशोक चोकमा १२ कट्ठा जग्गा खरिद गरेर आश्रम सञ्चालन गरे ।

चन्दा संकलन गरेको सुरु गरेको आश्रमम सञ्चालनका लागि संघसंस्थाले सहयोग गरिरहेका छन् । आश्रममा अहिले ६२ जना ज्येष्ठ नागरिक आश्रित छन् । उनीहरुको सेवाका लागि ९ जना सहयोगी कर्मचारी राखेका छन् ।

आश्रममा महिलाका लागि ५४ वटा र पुरुषका लागि ५६ वटा गरी ११० वटा बेड रखिएको छ । विराटनगरको रामपुरमा पनि विराटेश्वर वृद्धाआश्रमको शाखा सञ्चालनमा छ । रामपुरमा ९ जना बसिरहेका छन् ।

८४ वर्ष पुगेका अर्ज्याल अझै साइकल कुदाउँछन् । पार्कका लागि हरेक दिन चन्दा संकलन गर्न जान्छन् । उनको शरीर बुढो भएपनि मन भने तन्नेरी नै छ । काम गर्ने जोश अझै छ । त्यसैले उनी तीन पुस्ता (बालबालिका, युवा र ज्येष्ठ नागरिक)लाई समेट्ने गरी लिबर्टी पार्क बनाउने अभियानमा छन् । विराटनगर– ८ मा नै करिब २ बिघा जग्गामा पार्क बनाउने योजना छ । एक बिघा नम्बरी जग्गा आश्रमको नाममा आइसकेको छ । बाँकी एक बिघा ऐलानी जग्गा हो ।

यो पार्क निर्माणका लागि उनले एउटा नोट संकलन गर्ने अभियान चलाएका छन् । वृद्धा आश्रम चलाउँदा ५ रुपैयाँ संकलन गरेका उनले पार्क बनाउनका लागि एउटा नोट ५, १०, २०, ५०, १००, ५०० र १००० मध्ये एउटा नोट स्वेच्छाले माग्छन् ।

यो अभियानका लागि ६ लाख ७० हजार रुपैयाँ बैंकमा जम्मा भइसक्यो, हरेकदिन यो रकम बढ्दो छ । उनी हरेकदिन घर–घरमा,दोकानमा, क्याम्पसमा र विभिन्न कार्यक्रमहरुमा गएर पार्कका लागि एउटा नोट सहयोग संकलन गरिरहेका छन् ।

‘जनताले इच्छा गरे यो सम्भव छ, एउटा वृद्ध मान्छेले पाँच रुपैयाँ उठाएर १२ कट्ठा जग्गा किनेर वृद्धाश्रम चलाएर ७० जनालाई आश्रय दिएको छ,’ उनले भने,‘त्यही वृद्धले पार्कको अभाव देखेर पार्क खोल्दै छ, यो मान्छेमा चेतना पनि जगाएको हो ।’

लिबर्टी पार्कको शिलान्यास उनले गत जेठ १५ गते गरेका थिए । अब, संरचना बनाएर सञ्चालन गर्ने योजना छ ।

अर्ज्यालका छोराबुहारी अमेरिकामा छन् । छोरी काठमाडौंमा छिन् । विराटनगरमा आश्रम सञ्चालन गरिरहेका बुबालाई छोराले अमेरिका बोलाउँछन् । तर,  उनलाई नेपाल छाडेर जाने मन छैन, उनी जान चाहादैनन् ।  ‘पाँच पटक त अमेरिका पुगेर आए, तर यहाँ जस्तो छैन,’ उनी भन्छन,‘ नेपाल त स्वर्ग भन्दा कम छैन ।’

शरीर बुढो भएपनि उनी गलेका छैनन । ‘लोभ लालच भए पो गल्नु, सेवाको भावले गरेको काममा कसरी गल्नु ?’ उनले भने,‘यो पनि साधना हो ।’

उमेर ढल्दै गएका कारण उनी आश्रम सञ्चालनका लागि एउटा टिमको खोजीमा छन् । आफ्नो अनुपस्थितिमा वृद्धाश्रम सञ्चालनका लागि ट्रस्ट खोलिदिएका छन् । सोही ट्रष्टले नै पार्क पनि सञ्चालन गर्नेछ ।

अहिले उनी आश्रम सञ्चालनका लागि ट्रष्टको म्यानेजर खोजी गरिरहेका छन् । म्यानेजर भेटे पार्क निर्माणका लागि आफू खटिने उनको योजना छ ।

सप्तरीको बरमझियामा जन्मिएका अर्ज्याल बुबासँगै २०१६ सालमा विराटनगर आएका थिए । २०२० साल माघदेखि २०६२ सालसम्म विभिन्न विद्यालयमा अध्यापन गराए । रिटायर्ड लाइममा के गर्ने भन्ने सोचले उनलाई आश्रम सञ्चालन गर्ने निर्णयमा पुगेका थिए ।

अध्यापन गराउँदै गर्दा समाजमा पिछडिएका गरिब, दुखीहरुको वृद्धाअवस्थाको अवस्था उनले देखे, अध्यापन गराउँदा सानैमा विवाह भएर श्रीमानको मृत्युपछि बसेकी महिलाको वृद्धा अवस्था पनि उनले देखे, मालिकोमा उमेर हुन्जेल काम गर्नेहरुले वृद्धा अवस्थामा आश्रय नपाएको देखेपछि उनी तिनिहरुको संरक्षक बन्ने निष्कर्षमा पुगे । त्यहीँ अठोटले उनले पाँच रुपैयाँ संकलन अभियान मार्फत उदारणीय काम गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.