
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी पुस्ताका नाममा समाज भड्काउने प्रयास भइरहेको बताएका छन् । देशलाई हेप्ने प्रवृत्ति सहन नसकिने उनले बताए ।
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेथिति र हेपाहा प्रवृत्तिको विरोधमा सदैव उत्रिने र राष्ट्रिय स्वाभिमानमा कुनै सम्झौता नगर्ने बताए । उनका अनुसार राष्ट्रियता कुनै कविता वा क्षणिक स्वार्थ नभइ बलिदान र संघर्षबाट स्थापित मूल्य हो ।
‘सामाजिक सञ्जालका विरुद्ध एमाले छैन । तर, नेपालमा व्यवसाय गरेर पैसा कमाउनेले कानुन नमानेर बस्ने कुरा सह्य हुँदैन,’ ओलीले भने । अहिले केही व्यक्ति विरोध मात्र गर्ने पात्र–पुतलीझैँ भएको भन्दै उनले आलोचना गरे ।
प्रधानमन्त्री ओलीले हालका चर्चित बुद्धिजीवीहरूको चिन्तन स्वतन्त्र नभएको आरोप लगाए । आफूलाई ठूलो बुद्धिजीवी ठान्नेहरूले समाजलाई गलत रूपमा प्रभावित गर्न खोजेको टिप्पणी गर्दै उनले पछिल्लो समयमा ‘जेनजी’ पुस्ताका नाममा समाजलाई भड्काउने प्रयास भएको आरोप लगाए । तर, जेनजी पुस्ता वास्तवमा देशलाई माया गर्ने बाटोमा रहेको उनको भनाइ छ ।
सामाजिक सञ्जाल दर्ता प्रक्रियाको प्रसंग उठाउँदै उनले भने, ‘अहिले ४ जनाको रोजगारीभन्दा देशको स्वाधीनता ठूलो हो । देशको कानुन नमान्ने, संविधान नमान्ने, राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तालाई नमान्ने कुरा सह्य हुँदैन । स्वाधीनता स्वाभिमानबाट प्राप्त हुन्छ, स्वाभिमानबाट स्वतन्त्रता प्राप्त हुन्छ ।’
असमानता घटाउँदै विभेद अन्त्य गर्ने एमालेको नीति रहेको बताउँदै ओलीले छलफलसहित बनेका नीतिलाई अँगालेर ‘मिसन ८४’ को अभिभारा पूरा गर्न पार्टी अघि बढिरहेको दाबी गरे ।
























