
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् ।
जेनजी आन्दोलनका क्रममा सोमबार १९ जनाको मृत्यु भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । युवाहरूको आन्दोलनप्रति समर्थन जनाउँदै र सरकारले गरेको दमनप्रति विरोध गर्दै उनले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका छन् ।
यादवले आफ्नो स्वकीय सचिवालयमार्फत पनि राजीनामाको जानकारी दिँदै यस्तो संवेदनशील परिस्थितिमा सरकारमा बसिरहनु उपयुक्त नहुने बताएका छन् । ‘हिजो जेनजी युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार तथा प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु,’ यादवले लेखेका छन् ।
सामाजिक सञ्जालमार्फत युवाप्रति भावुक हुँदै उनले थप लेखेका छन्, ‘प्रिय युवा भाइबहिनीहरू, तपाईं नै मेरो प्रथम सहयोगी, मेरो जोश र ऊर्जाका स्रोत हुनुहुन्छ । संयमता अपनाएर सही मार्गमा अघि बढ्न म सबैलाई अपिल गर्दछु ।’ जेनजीको प्रदर्शनमा ठूलो संख्यामा युवा सडकमा उत्रिएका छन् ।
प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा सुरक्षा निकायले बल प्रयोग गर्दा १९ जनाले ज्यान गइसकेको छ । ४ सयभन्दा बढी घाइते भएका छन् । सरकारको आलोचना भइरहेको छ ।
























