
विराटनगर । जेनजी पुस्ताका नाममा भएको हिंसात्मक आन्दोलनको असर अहिले पनि कोशी प्रदेशको राजधानी विराटनगरमा कायमै छ । आन्दोलनकारीको आक्रोशसँगै आगजनी तीव्र हुँदा विराटनगर अहिले पनि धुवाँमय छ ।
विराटनगर मंगलबार दिनभर सहर धुवामय बन्यो । त्यो अवस्था अझै पनि कायमै छ । विभिन्न सरकारी कार्यालय अझैसम्म जलिरहेका छन् । आगो लगाइका कार्यालयबाट धुवाँको मुस्लो उडिरहेको छ । दनदनी आगो दन्किरहेको छ ।
विभिन्न स्थानमा सर्वसाधारण र सामाजिक अभियन्ताको पहलमा आगो नियन्त्रणको प्रयास भइरहेको छ । तर, नियन्त्रण सम्भव भइरहेको छैन । मंगलबार अपरान्हदेखि आगजनी र तोडफोड हुन थालेको थियो । स्थिति दिउँसोदेखि नियन्त्रणबाहिर गयो ।
साँझसम्ममा सबैजसो सरकारी कार्यालय र निजी संरचनामा आगजनी गरियो । जसका कारण विराटनगरका करिब सबै सरकारी कार्यालय र केही निजी संरचना खरानीमा परिणत भए ।
आन्दोलनकारीले सुरुमा कोशी प्रदेशसभा भवनमा आक्रमण गर्दै आगजनी गरेका थिए । त्यसपछि प्रदेश सरकारका मुख्यमन्त्री कार्यालयदेखि लिएर विभिन्न मन्त्रालयहरूलाई क्रमशः जलाइयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, पर्यटन, वन तथा वातावरण मन्त्रालयलगायतका मन्त्रालयहरू आगोमा परे ।
मन्त्रालयमा रहेका सवारीसाधन, फर्निचर र अभिलेख जलेर नष्ट भए । उच्च अदालत विराटनगर र जिल्ला अदालत मोरङमा समेत आगजनी हुँदा त्यहाँ रहेका मुद्दासम्बन्धी कागजातहरू पूर्ण रूपमा नष्ट भएका छन् । अदालत अझैसम्म जलिरहेको छ ।
प्रदेशसभा भवन, जिल्ला अदालत, हुलाक, जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयहरु अझै पनि जलिरहेका छन् । मालपोत कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालय मोरङ, कर्मचारी सञ्चय कोष, कोष तथा लेखा नियन्त्रण कार्यालय, हुलाक कार्यालय, आन्तरिक राजस्व कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, विराटनगर महानगरपालिका कार्यालय, प्रदेश प्रमुखको कार्यालय र निवासलगायतका संरचनासमेत जलाइएको छ ।
प्रहरीका अनुसार विराटनगरमा रहेका प्राय सबै सरकारी कार्यालयमा आगजनी भएको छ । तर, क्षतिको विवरण संकलन सम्भव भइरहेको छैन । मंगलबार दिउँसो करिब २ बजेसम्म सडकमा सुरक्षाकर्मी देखिए पनि त्यसपछि ‘ब्याक’ भएपछि आन्दोलनकारीको समूहले नियन्त्रणविहीन रूपमा तोडफोड, लुटपाट र आगजनी गरेको हो ।
आक्रोशित भिडले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको घरमा समेत आगजनी गर्यो । ऐतिहासिक रूपमा बीपी र गिरीजाप्रसाद कोइराला बसोबास गरेको कोइराला निवास आगन्तुकका लागि पर्यटकीय स्थलको रूपमा चिनिँदै आएको थियो । तर, मंगलबारको आगजनीले उक्त निवास ध्वस्त बनाएको छ ।
त्यस्तै, नेकपा एमाले मोरङको पार्टी कार्यालयमा आगो लगाइयो भने नेकपा (माओवादी केन्द्र)का नेता शिवकुमार मण्डल र जीवन आचार्यको घरमा समेत आगजनी भएको छ । विराटनगर महानगरपालिकाका केही वडाध्यक्षका घरहरू समेत आन्दोलनकारीको निशानामा परे ।
विराटनगरको प्रमुख व्यापारिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केटमा आगजनी र लुटपाट भएको छ । भाटभटेनी अझै जलिरहेको छ । त्यसपछि सहरको मुख्य चोकचोकमा टायर बाल्दै आन्दोलनकारीले सडक कब्जा गरेका थिए । आगजनीको क्रममा सरकारी कार्यालय नजिकका घरमा पनि क्षति पुगेको छ ।
बजार र यातायात पूर्ण रूपमा बन्द हुँदा मंगलबार विराटनगरको जनजीवन अस्तव्यस्त रह्यो । साँझसम्म सडकमा आन्दोलनकारी बाक्लै उपस्थित रहे । अहिलेसम्म पनि धेरै सरकारी भवनहरूमा आगो बलिरहेको र तोडफोड तथा लुटपाट भइरहेको छ ।
सरकारी भवनमा आगो दन्किरहँदा त्यो मौका छोपेर लुटपाट गर्ने गिरोह सक्रिय भएको छ । सरकारी कार्यालयका कम्प्युटर, ल्यापटप सबै लुटपाट भएको छ । नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीसहितका सुरक्षा निकायले लुटपाट एवं चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिने काम गरिरहेका छन् ।
आन्दोलनमा उत्कर्षमा पुगेर सुरक्षाकर्मीको उपस्थित कमजोर हुँदा सहरभरी अराजकता फैलिएको थियो । जसका कारण विराटनगर अहिले त्रासमा छ ।


























