संवैधानिक र लोकतान्त्रिक उपलब्धि जोगाउन एमालेको आह्वान

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २६, बिहीबार १४:३३

काठमाडौं । नेकपा (एमाले)ले मुलुकमा देखिएको पछिल्लो राजनीतिक जटिलताबीच संविधान र लोकतन्त्रका उपलब्धिहरूलाई सुरक्षित गर्न सबै राजनीतिक दलहरूलाई पारस्परिक संवादमा आउन आह्वान गरेको छ ।

पार्टी महासचिव शंकर पोखरेलले बिहीबार वक्तव्य जारी गर्दै वर्तमान परिस्थितिमा राजनीतिक सहमति र संवाद अपरिहार्य भएको भन्दै राष्ट्रपतिलाई समेत नेतृत्वदायी पहल गर्न आग्रह गरेका छन् । वक्तव्यमा संविधानले स्थापित गरेको मर्मअनुसार मार्गचित्र तय गर्दै युवापुस्ताका सरोकारलाई सम्बोधन गर्नुपर्ने उल्लेख छ ।

‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनाजस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ,’ वक्तव्यमा भनिएको छ, ‘यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं ।’ हालै जेनजी आन्दोलनका क्रममा देखिएका आगजनी, लुटपाट र तोडफोडका घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नभएको एमालेले स्पष्ट पारेको छ ।

एमालेले सत्य तथ्य छानबिन हुनुपर्ने र यस्ता घटनामा संलग्न व्यक्ति पत्ता लगाएर कानुनी दायरामा ल्याउनुपर्ने स्पष्ट धारणा व्यक्त गरेको छ । वक्तव्यमा भनिएको छ, ‘यति ठूलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरू किन प्रभावकारी हुन सकेनन् ? भन्ने विषयमा पनि समीक्षा हुनुपर्छ ।’

एमालेले संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तह सबैले आफ्नो स्थानबाट लोकतन्त्रको रक्षार्थ रचनात्मक भूमिका खेल्नुपर्नेमा जोड दिएको छ । स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गर्नुपर्ने मागसमेत वक्तव्यमा गरिएको छ ।

त्यस्तै, प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न परिस्थितिमा अबको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको एमालेले जनाएको छ । संवैधानिक, लोकतान्त्रिक र गणतान्त्रिक मूल्य–मान्यतामाथि कुनै चोट नपुगोस् भन्ने उद्देश्यसहित एमालेले सबै राजनीतिक दललाई आपसी संवादमा आउन, समझदारी निर्माण गर्न र राष्ट्रिय स्वाभिमानलाई सुरक्षित गर्ने सामूहिक जिम्मेवारी निर्वाह गर्न आह्वान गरेको छ ।

यस्तो छ एमालेको वक्तव्यको पूर्णपाठ

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.