
काठमाडौं । आइतबार बिहानैदेखि विराटनगरसहित विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
५१ देखि ७५ प्रतिशत आकाश बादलले ढाक्नुलाई साधारणतया बदली भनिन्छ ।
आइतबार दिउँसो देशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । तराई भूभागका थोेरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति पनि देशभर साधारणतया बदलीको पूर्वानुमान छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
“कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
हाल पानी पार्ने प्रणाली मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको महाशाखाले जनाएको छ ।

























