
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी युवाहरूको आकांक्षा पूरा गर्ने बाटोमा अघि बढिरहेको बेला गत भदौ २३ र २४ गते जेनजीहरू सडकमा आएको टिप्पणी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलको अनुगमनपछि सोमबार सञ्चारकर्मी र कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनका अनुसार भदौ २० देखि २२ गतेसम्म भएको विधान महाधिवेशनमा युवाहरूको आकांक्षा सम्बोधन गर्ने गरी गम्भीर छलफल भएको थियो ।
तर, त्यही प्रक्रियामा अघि बढ्दा पनि केही असन्तुष्टिका स्वरहरू सडकमा प्रकट भएको उनको भनाइ छ । ‘मलाई लाग्छ, युवाहरूले धैर्यता गरेको भए एमाले नै उहाँहरूको आकांक्षा पूरा गर्ने पार्टीका रूपमा अगाडि आउँदै थियो,’ पोखरेलले भने, ‘हामीले संकल्प र योजना अघि सारेको भए पनि दुर्भाग्यवश, तिनलाई व्यवहारमा लागू गर्न पाएनौँ ।’
पोखरेलले अहिले बनेको अन्तरिम सरकारले शान्ति सुरक्षाको वातावरण सिर्जना गरेर तोकिएको समयमा निर्वाचन गराउनु जरुरी रहेको प्रष्ट पारे । उनले भने, ‘यो सरकार अन्तरिम भएकाले उसको पहिलो दायित्व नै समयमै निर्वाचन गराउनु हो । स्थायी समाधान र जनमत संकलनको प्रक्रिया निर्वाचनमार्फतै सम्भव हुन्छ । सधैँभरिको लागि सडक आन्दोलन समाधान होइन ।’
उनले संविधानमै परिवर्तनलाई संस्थागत गरिसकेको अवस्थामा त्यसकै आधारमा देश अघि बढ्नु पर्ने बताए । ‘सधैँ सडकबाट मात्रै स्थायित्व र विकास सम्भव छैन,’ पोखरेलले जोड दिए, ंसंविधानतर्फ फर्किएर निर्धारित समयमा निर्वाचन नगरे मुलुक परिवर्तनको आधारमै अघि बढ्न सक्दैन ।’
एमालेले अहिले उठिरहेका प्रश्नहरूको जवाफ दिन सक्ने दाबी गर्दै उनले युवाको भावना सम्बोधन गर्ने, परिवर्तनको आकांक्षा बोकेर अघि बढ्ने र मुलुकको विकास तथा समृद्धिको नेतृत्व गर्न पार्टी सक्षम रहेको दोहोर्याए । युवाहरूको आकांक्षा समयमै पूरा गर्न नसकेको आत्मस्वीकृति जनाउँदै उनले भने, ‘तर देशभक्ति, सुशासन, विकास र समृद्धिमाथि प्रश्न गर्ने कुरा उचित हुँदैन । हामी फेरि उठ्नेछौँ, अझ बलियो एकतासहित जनताको भावना सम्बोधन गर्नेगरी उठ्नेछौँ ।”
























