प्रचण्ड पेरिसडाँडामा : जेनजी आन्दोलनले जलाएको कार्यालय पुनर्निर्माणको घोषणा

Share this
708shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३१, मंगलबार १२:४४

काठमाडौं । जेनजी आन्दोलनको क्रममा आगजनीपछि ध्वस्त बनेको पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवलोकन गरेका छन् ।

आन्दोलन सुरू भएलगत्तै सेनाको सुरक्षा घेरामा रहेर बाहिरी गतिविधिबाट टाढा रहेका प्रचण्ड लामो समयपछि सार्वजनिक रूपमा देखा परेका हुन् । पार्टी कार्यालय पुगेर उनले जलेर ध्वस्त भएको संरचना, क्षतिग्रस्त कागजात र बाँकी रहेका सामग्री अवलोकन गरेका थिए ।

कार्यालयभित्र बैठकका माइन्युट, पुस्तकालयका केही पुस्तक र थोरै कम्प्युटरहरू जोगिएको जानकारी प्रचण्डले सार्वजनिक गर्दै ती सामग्री सुरक्षित राख्न भूमिका खेलेका कर्मचारी र कार्यकर्ताहरूप्रति आभार प्रकट गरे । अवलोकनपछि प्रचण्डले अब नयाँ र भव्य पार्टी केन्द्रीय कार्यालय निर्माण गर्ने घोषणा गरे ।

उनका अनुसार कार्यालय पुनर्निर्माणका लागि देशभरका पार्टी कार्यकर्ताहरूको सहयोग जुटाइनेछ । तर, नयाँ कार्यालय कहाँ निर्माण गर्ने भन्ने स्थानबारे भने उनले खुलाउन चाहेनन् ।

पेरिसडाँडास्थित माओवादी केन्द्रको कार्यालय जेनजी आन्दोलनका क्रममा लक्षित स्थानमध्ये एक बनेको थियो । आन्दोलनकारीहरूले आगजनी गरेको कार्यालय पुनर्निर्माण गरिने प्रचण्डले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.