डा. सन्दुक रुइतले अस्वीकार गरे प्रधानमन्त्री कार्कीको आग्रह

Share this
783shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३१, मंगलबार १२:५७

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग मंगलबार विशेष भेटवार्ता गरेकी छन् । तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर कार्कीले नयाँ बनेको अन्तरिम सरकारलाई प्रभावकारी बनाउन मन्त्रीको भूमिकामा सहभागी हुन रुइतसँग आग्रह गरेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनपश्चात् बनेको विशेष परिस्थितिको सरकारलाई ‘विश्वसनीय अनुहार’ र ‘नागरिकमाझ लोकप्रिय व्यक्ति’को सहकार्य आवश्यक रहेको बताउँदै रुइतसँग सहकार्यको हात बढाएकी हुन् । उनले भनिन्, ‘देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको छ । यस्तो बेला तपाईंले सरकारलाई साथ दिनुभयो भने ठूलो नैतिक बल पुग्छ ।’

तर, डा. रुइतले प्रधानमन्त्रीको आग्रहलाई सम्मानजनक तरिकाले अस्वीकार गरे । उनले आफू सरकारमा नजाने स्पष्ट गर्दै भने, ‘म अस्पताल र बिरामीलाई छाडेर आउन सक्दिनँ । यत्रो काम यहाँ छ । बिरामीलाई छाडेर मन्त्री बन्न जाने होइन ।’

सञ्चारकर्मीले क्याबिनेटमा सामेल हुने सम्भावना बारे सोध्दा पनि उनले पुनः दोहोर्याए, ‘मैले सरकारलाई बाहिरबाट सहयोग गर्छु । तर, प्रत्यक्ष सहभागी हुन सक्दिनँ । मेरो जीवन बिरामीको उपचारमै समर्पित छ ।’

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा केही नयाँ अनुहार समावेश गर्ने चर्चा भइरहे पनि रुइतले लगातार चिकित्सकीय पेसामार्फतै नागरिक सेवामा समर्पित रहने अडान लिइरहेका छन् । उनको नाम मन्त्री पदका लागि चर्चामा आए पनि उनले ‘राजनीतिक भूमिकाभन्दा चिकित्सकीय जिम्मेवारीलाई प्राथमिकता दिने’ स्पष्ट सन्देश दिएका हुन् ।

डा. रुइत विश्वव्यापी रूपमा नेत्र उपचारमा पुर्याएको योगदानका लागि परिचित छन् । नेपालमै आँखा उपचारलाई सुलभ र प्रभावकारी बनाएको तिलगंगा आँखा प्रतिष्ठान उनको प्रमुख उपलब्धि हो । यतिबेला पनि दिनरात बिरामीको उपचार र अनुसन्धानमा व्यस्त रहेका कारण उनले मन्त्री बन्ने प्रस्तावलाई अस्वीकार गरेको बताइएको छ ।

प्रधानमन्त्री कार्कीले भने आफूले देश र समाजका लागि काम गरिरहेका व्यक्तिहरूसँग निरन्तर छलफल गरिरहने बताइन् । सरकारले आवश्यक सल्लाह तथा सुझाव लिन कुनै कसर बाँकी नराख्ने उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.