
धरान । प्रधानमन्त्री बन्न काठमाडौं पुगे पनि केही पार नलागेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (हर्कराज राई) मंगलबार पत्रकार सम्मेलन गरेर रोएका छन् ।
धरानमा पत्रकार सम्मेलन गर्दा उनी भावुक बने । काठमाडौंमा आफूलाई प्रधानमन्त्री बनाउन पहल भए पनि परिणाम ननिस्किएको र अहिलेको राजनीतिक अस्तव्यस्तताबीच विदेशी हस्तक्षेपको सम्भावना बढिरहेको भन्दै उनी रोएका हुन् ।
पत्रकारहरुसँग कुरा गर्दै साम्पाङले भने, ‘विदेशीले यतिखेर देश ‘टेकओभर’ गर्न सक्छन् । नेताहरू सबै भागाभाग छन् । पार्टीका कार्यालयहरू तहसनहस छन् । कोही रक्ताम्य छन्, कोही सडकमा कुटाइ खाइरहेका छन् । अब देशलाई कसले सम्हाल्ने हो भन्ने नै अनिश्चित छ ।’ उनका कुरा सुन्ने क्रममा बोली अड्किँदा पत्रकारहरूले ‘यसरी नरुनुस्’ भनेर सम्झाउनुपरेको थियो ।
काठमाडौं पुगेपछि उनलाई खानेपानी वा श्रम मन्त्रालय दिने कुरा आए पनि आफूले अस्वीकार गरेको उनको दाबी थियो । उनले भने, ‘म मन्त्री बन्नको लागि अरुलाई ढोग्ने मान्छे होइन । मलाई त धरानको मेयर पद पनि १० वर्षसम्म चप्पल पड्काएर अभियान चलाएर पाएको हो । पार्टीको टिकट वा टीका लगाएर होइन ।’
प्रधानमन्त्री बन्ने उद्देश्यसहित धरानबाट ५ सय किलोमिटर टाढा काठमाडौं पुगेको भन्दै साम्पाङले आफ्नो नाममा छलफल भए पनि सहमति नबनेको दाबी गरे । ‘यो अटेरी छ । हाम्रो लाइनमा आउँदैन भन्ने कुरा भएछ,’ उनले भने ।
काठमाडौं जाने क्रममा शुभचिन्तकहरूले आफूलाई गोली लाग्ने खतरा रहेको चेतावनी दिएको स्मरण गर्दै साम्पाङले भने, ‘लाग्छ भने लागोस् भनेर म गएको हो । नेताहरू लुकिरहेको बेला म भने देश बचाउन आगोमा हामफालेँ ।’ उनले यो सरकारको वैधतामाथि नै प्रश्न उठाउँदै भने, ‘के यो सरकार लिगल हो ? जेनजी आन्दोलनमा संलग्न सबैलाई अपराधी ठहर्याउने हो भने सरकारले वैधता कहाँबाट लिन्छ ? सम्पूर्ण जिम्मेवारी गृह मन्त्रालय र अहिलेको सरकारले लिनुपर्छ ।’
यसैबीच, साम्पाङले हालैको सरकार गठनमा ‘१ जना गेमर’ संलग्न भएको आरोप पनि लगाएका छन् । उनका अनुसार उक्त व्यक्तिले अहिले भएको सम्पूर्ण क्षति र घटनाको जिम्मा लिनुपर्छ ।
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि साम्पाङ काठमाडौं पुगेका थिए । प्रधानमन्त्री बन्नका लागि गएको बताइए पनि असफल भएपछि मन्त्री बन्न शीतलनिवास पुगेको समाचारसमेत बाहिरिएको थियो । तर, पदविहीन भएर फेरि धरान फर्किएका साम्पाङ अहिले राजनीतिक अवस्थाप्रति असन्तुष्टि प्रकट गर्दै आफ्ना भावनामा खुलेर रोएका हुन् ।

























