जनमत पार्टीमा नेतृत्व संकट : सीके राउतलाई पद छोड्न २४ घण्टे अल्टिमेटम

Share this
677shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज १, बुधबार १९:४३

काठमाडौं । जनमत पार्टीभित्र शीर्ष नेतृत्वमा द्वन्द्व उत्पन्न भएको छ । पार्टीका पदाधिकारी र केन्द्रीय नेताहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, युवा संघ संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताले सामूहिक हस्ताक्षर गरेर पठाएको पत्रमा भनिएको छ, ‘नेतृत्वले मार्ग प्रशस्त गरेमा पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थामा रूपान्तरण गर्न एकजुट भएर लागिनेछ ।’

यसै क्रममा संगठन विभाग प्रमुख समेत रहेका सीके राउतका सहोदर दाजु जयकान्त राउतलाई पनि पद छोड्न भनिएको छ । जेनजीले सञ्चालन गरेको आन्दोलनले नेपालको राजनीतिमा ऐतिहासिक मोड ल्याएको पत्रमा उल्लेख छ ।

पत्रमा अध्यक्ष राउतलाई सम्बोधन गर्दै भनिएको छ, ‘देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरण आवश्यक रहेको छ । यस्ता परिस्थितिमा जनमत पार्टीले आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अपरिहार्य भएको छ ।’

अध्यक्षको नेतृत्वमा पार्टीले राष्ट्रिय मान्यता प्राप्त गरेको भए पनि पछिल्लो समय शीर्ष नेतृत्वको कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र जनभावनासँग विमुख गतिविधि देखिएको नेताहरूको आरोप छ । यो कदमले पार्टीभित्र नेतृत्व र संगठनात्मक ढाँचामा ठूलो तनाव सिर्जना गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.